११ करोडको लागतमा गण्डकीमा २ नमुना पशुपक्षी अस्पताल बन्दै

११ करोडको लागतमा गण्डकीमा २ नमुना पशुपक्षी अस्पताल बन्दै


कास्की ।

पशुपक्षीको उपचारमा स्तरीय सेवा दिन कास्की र तनहुँमा नमुना पशुपक्षी अस्पताल भवन निर्माण भइरहेको छ ।

गण्डकी प्रदेश सरकारको लगानीमा बनिरहेका ती अस्पताल भवनको भौतिक निर्माण यसै वर्षभित्र सक्ने लक्ष्य लिइएको छ ।

कास्कीको पोखरा–१२ माटेपानी र तनहुँको दमौलीमा प्रदेशस्तरीय नमुना पशुपक्षी अस्पताल बन्न लागेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।

पशुपक्षीमा लाग्ने रोगको निदान र उपचारका लागि आधुनिक पूर्वाधारसहितको अस्पताल निर्माण हुने मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले बताए ।

मन्त्रालयका अनुसार कास्कीमा रहने अस्पतालको लागत ५ करोड ५४ लाख ४८ हजार र तनहुँको ५ करोड ५४ लाख ६५ हजार रहेको छ । कास्कीमा निर्माणाधीन अस्पतालका लागि गत आवमा ३ करोड २५ लाख बजेट विनियोजन गरिएकामा २ करोड ३२ लाख ९७ हजार खर्च भएको जनाइएको छ ।

तनहुँको अस्पताल भवनका लागि गत आवमा ३ करोड ५० लाख बजेट विनियोजन भएकामा जम्मा ६० लाख २७ हजार खर्च भएको मन्त्रालयले जनाएको छ । कास्की अस्पताल भवनमा हालसम्म ४ करोड ९६ लाख ९५ हजार र तनहुँमा ३ करोड ४० लाख ८२ हजार खर्च भइसकेको छ ।

कास्कीमा आउँदो कात्तिक १० गतेसम्म र तनहुँमा आउँदो पुस ११ गतेसम्म निर्माण सक्ने गरी म्याद थप भएको महाशाखा प्रमुख डा न्यौपानले बताए । भवन बनेपछि आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेर अस्पतालको सेवा सुरु गरिने कास्कीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेले बताए ।

अहिले कास्कीको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमा दुई जना मात्र पशु चिकित्सकको दरबन्दी छ । नमुना अस्पताल बनेपछि विशेषज्ञसहितको जनशक्ति थप्नुपर्ने अवस्था रहेको केन्द्रले जनाएको छ ।