बन्चरेडाँडामा फोहोर फ्याल्न सधैँका लागि रोक !

बन्चरेडाँडामा फोहोर फ्याल्न सधैँका लागि रोक !


काठमाडौँ ।

बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले असोज १ गतेबाट उपत्यकाको फोहोरमैला बन्चरेडाँडा ल्यान्डफिल साइटमा लैजान सधैँका लागि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक श्रीराम ढुंगानाले उपत्यकाको फोहोरमैला घरबस्तीमा लान बन्द गर्ने अभियानमा लाग्नुपर्ने बाध्यकारी परिस्थिति आएको भन्दै फोहोर फ्याल्न नदिने घोषणा गरे ।

उनले काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य नगरपालिका समेतको संयुक्त षड्यन्त्रद्वारा प्राविधिकलाई आफ्नो एकाधिकार सामेल गराएर नकारात्मक प्रभाव परेको क्षेत्रमा कुनै प्रभाव नरहेको भन्ने काल्पनिक प्रतिवेदन तयार गर्न लगाएको जिकिर गरे ।

उक्त क्षेत्रमा आम नरसंहार, मानव अस्तित्व नै समाप्त गराउने भीषण योजनामा महानगरपालिका लागेको भन्दै फोहोरमैला प्रवेश गर्न पुर्ण रूपमा रोक लगाउने निणर्य गरेको पनि ढुंगानाले बताए ।

बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले विगत २०५१ भदौ २८ गते संघीय मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर समेतले ओखरपौवा र चाउथेका जनप्रतिनिधि समेतको संयुक्त बैठकमा गरेको सहमति र निणर्य आजसम्म कार्यान्वयन नभएको गुनासो गरेको छ । समितिले प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी सोही अनुरूपको कार्यान्वयन अविलम्ब गर्न मागसमेत गरेको छ ।

ल्यान्डफिल साइटमा अटेर गरी प्रवेश गरेरगराएमा, विषम परिस्थिति सिर्जना गराई दुर्घटना गराएमा नेपाल सरकार, काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य नगरपालिका, त्यसका योजनाकार, फोहोरमैला ढुवानीमा प्रयोग भएका सवारीधनी र चालकहरु जिम्मेवार हुनुपर्ने भन्दै स्थानीय नागरिक जबाफदेही नहुने चेतावनी पनि समितिले दिएको छ ।