एउटै व्यक्तिको पित्तथैली र मूत्रनलीमा ५५ वटा पत्थरी

एउटै व्यक्तिको पित्तथैली र मूत्रनलीमा ५५ वटा पत्थरी


झापा ।

यहाँका एक बिरामीको उपचारको क्रममा पित्तथैली र मूत्रनलीबाट शल्यक्रियामार्फत ५५ वटा पत्थरी निकालिएको छ ।

दक्षिण झापाको कचनकबल गाउँपालिका–६ की ५४ वर्षीया सुमित्रा साहको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारको क्रममा ५५ वटा पत्थरी एकैपटकमा बाहिर निकालिएको हो ।

अस्पतालका निर्देशक बालकुमार पोखरेलका अनुसार पेटभित्र असह्य दुखाई बढेपछि उपचारका लागि साहलाई हस्पिटलमा भर्ना गरिएपछि भदौ ७ गते सर्जन डा शशी सिंहले सफलतापूर्वक शल्यक्रिया गरेका थिए ।

सबै जाँच प्रक्रिया पूरा भएपछि शल्यक्रिया गर्दा पित्त थैली र मूत्रनलीबाट ५५ वटा पत्थरी निकालिएको उनको भनाइ छ ।

साहको शल्यक्रिया सम्पन्न गर्न ८ घण्टा लागेको थियो । शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार आइसकेको र छिटै घर फर्किने तयारीमा रहेको उनका छोरा दीपककुमार साहले बताए ।

अस्पतालका व्यवस्थापक मनोज दाहालले उनको पित्तथैली र मूत्रनलीबाट निकालिएका हरेक पत्थरी १२ एमएमभन्दा ठूलो रहेको जानकारी दिए ।