बाढीले पुल बगायो, २ गाउँपालिका बने टापु

बाढीले पुल बगायो, २ गाउँपालिका बने टापु


सोलुखुम्बु ।

महाकुलुङ र सोताङ गाउँपालिका जोड्ने मोटरेबल पुल बर्सातको बाढीले बगाउँदा स्थानीय नागरिकको जिल्ला सदरमुकामलगायत सबै बजारसँगको सम्बन्धविच्छेद भएको छ ।

बिरामीलाई अस्पतालसम्म पुर्‍याउन नसक्दा बिरामी, सुत्केरी, वृद्ववृद्वालगायत असक्त नागरिकको उपचारको अभावमा स्वास्थ्य जोखिम अवस्थामा पुग्दै गएको छ ।

स्थानीयको बजारसँगको सम्बन्धविच्छेद हुँदा नुन, तेल, खाद्यान्नलगायतका दैनिक अत्यावश्यक सामग्रीको अभाव सिर्जना भएको छ ।

जिल्लाको अन्य भागबाट सोताङ र महाकुलुङ गाउँपालिका जोड्ने मोटरेबल पुल भदौको पहिलो सातादेखि आएको अविरल बर्सातको बाढीले भदौ ७ गते बगाएको थियो ।

पुल बर्सातले बगाएपछि दुवै पालिकाका अध्यक्षहरू पुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापनका लागि केही दिनदेखि संघीय र प्रदेश सरकारका निकायमा धाइरहेका छन् ।

महाँकुलुङ गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले दुधकोशी नदी वारपार गर्ने मोटरेबल पुल बाढीले बगाउँदा सिंगो २ पालिकाको जिल्ला सदरमुकाम र बजारसँगको सम्बन्ध नै विच्छेद भएको जानकारी दिए । सम्पर्कविच्छेद भएपछि ती २ गाउँपालिका अलग्गै टापु जस्तो भएका छन् ।

उनका अनुसार ४२ मिटर लम्बाइको सो पुल अविरल आएको वर्षाले बगाउँदा महाकुलुङ र सोताङ गाउँपालिका करिब ३५ हजार नागरिक चरम समस्यामा परेका छन् । २०७५ सालमा संघीय सरकार र २ स्थानीय तहको लगानीमा पुल निर्माण भएको थियो ।