दरबन्दी कम भएपछि सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक, ८८ लाख विनियोजन

दरबन्दी कम भएपछि सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक, ८८ लाख विनियोजन


चितवन ।

खैरहनी नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्यापन गराउन ४१ स्वयंसेवक शिक्षकलाई नियुक्त गरेको छ ।

कक्षागत र विषयगत दरबन्दी कम भएका र विद्यार्थी संख्या धेरै भएका विद्यालयमा ती शिक्षक खटाइने नगरपालिकाले जनाएको छ ।

खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाँले भने , “ स्वयंसेवक शिक्षक परिचालनबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनेमा हामी विश्वस्त छौँ ।” ती शिक्षकले अन्य शिक्षकसरह हप्तामा कम्तीमा २८ कक्षा पढाउनुपर्ने हुन्छ ।

खैरहनीमा विसं २०७६ यता विषयगत, कक्षागत र विद्यार्थी संख्या धेरै भएर शिक्षक अपुग भएको विद्यालयमा स्वयंसेवक शिक्षकलाई खटाउँदै आएको छ । नगरपालिकाको आन्तरिक आम्दानीबाट नै खर्च हुने गरी स्वयंसेवक शिक्षकको व्यवस्थापन गरिएको हो ।

स्वयंसेवक शिक्षकका लागि यस वर्ष नगरपालिकाले ८८ लाख २५ हजार बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

स्वयंसेवक शिक्षकको नियुक्ति पाउनेमा बालविकासतर्फ ११, प्राथमिक तह (कक्षा १–५) का २५, आधारभूत तह (कक्षा ६–८)मा गणित र विज्ञान विषयका चार र मावि तहको नेपाली विषयको एकजना रहेका छन् ।

स्वयंसेवक शिक्षकका लागि आवेदन दिएका २७२ मध्ये २६८ जना सूचीकृत भएका थिए ।

यसमध्येबाट योग्यताक्रमका आधारमा ४१ जना छनोट गरिएको हो । सुत्केरी बिदा र वैदेशिक यात्रामा गएका बेला रिक्त हुने स्थानमा स्वयंसेवक शिक्षक नै खटाइने छ ।