अकबरे खुर्सानी खेतीबाट ५ लाख सम्म आम्दानी, केजीको साढे ३ सय सम्ममा बिक्री

अकबरे खुर्सानी खेतीबाट ५ लाख सम्म आम्दानी, केजीको साढे ३ सय सम्ममा बिक्री


भोजपुर ।

व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् ।

उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् ।

स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ ।

उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । खुर्सानी स्थानीय बजारमा प्रतिकेजी २ सय ५० देखि ३ सय ५० सम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ ।

यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुसार्नीको खेती गरिरहेका छन् । विशेष गरेर जिल्लाको पौवादुङमा गाउँपालिकाले यसको पकेट क्षेत्र निर्धारण नै गरेर कृषकलाई खेतीमा प्रोत्साहन गरेको छ । पौवादुङमाका किसानले उत्पादन भएको खुर्सानी तिवारी भञ्याङ बजार तथा अन्य जिल्लामा निर्यात गर्दै आएका छन् ।

यही क्षेत्र भएर मध्यपहाडी लोकमार्गअन्तर्गत सवारीसाधनको आवतजावत हुने भएकाले उत्पादन भएको खुर्सानी बिक्री वितरण गर्न सहज भएको किसान बताउछन् ।

यहाँका एक किसानले सरदरमा वार्षिकरूपमा ५० हजारदेखि ५ लाखसम्म आम्दानी लिने गरेका छन् । तिवारीभञ्याङ क्षेत्रमा १ सय बढी घरले व्यावसायिकरूपमा खेती गर्दै आएका छन्

गाउँपालिकाले वडा नं ३ च्याङ्ग्रे–४, बास्तिम–५, सानोदुम्मा–६, ठुलोदुम्मामा अकबरे खुसार्नी, मौरीपालन र एभोकाडो खेतीको पकेट क्षेत्र निर्धारण गरिएको जनाएको छ ।

त्यस्तै वडा नं २ तिवारी भञ्याङको सडकभन्दा माथिदेखि वडा नं १ श्यामशिलाको वडा कार्यालयमुनिको भूगोललाई आलु, बन्दाकोबी र काउली खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् ।

वडा नं १ श्यामशिलाको माथिल्लो भेगमा किबीखेतीको पकेट क्षेत्र निर्धारण गरिएको उनले जानकारी दिइन् ।