असोज अघि मुस्ताङको स्याउ टिप्न नपाइने

असोज अघि मुस्ताङको स्याउ टिप्न नपाइने


मुस्ताङ ।

हिमालपारीको जिल्ला मुस्ताङको मुख्य बाली स्याउ असोज अघि टिप्न नपाइने भएको छ ।

जिल्ला समन्वय समितिको आयोजनामा आयोजित अन्तरपालिका समन्वय बैठकले मुस्ताङको स्याउ असोज १ अगावै टिप्न नपाइने निर्णय गरेको हो ।

स्याउ चाँडै टिपेर बजार पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले असोज लागेपछि मात्रै स्याउ बजार पठाउने निर्णय भएको जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतलाल थकालीले बताए ।

स्याउको गुणस्तरलाई कायम राख्दै आफ्नो गुणस्तरीय पहिचान राख्नका लागि असोज १ गतेपछि मात्रै स्याउ टिप्न मुस्ताङका ५ वटै स्थानीय तहका अध्यक्षहरुले प्रतिबद्धता जनाएका छन् । अध्यक्षहरुले आ–आफ्नो स्थानीय तहका किसानलाई स्याउ असोज लागेपछि मात्रै टिप्न अनुरोध गरिएको थकालीको भनाइ छ ।

जिल्ला समन्वय समिति मुस्ताङले आयोजना गरेको अन्तरपालिका समन्वय बैठकको निर्णयसँगै भदौ महिनाभर मुस्ताङमा किसानको बगैँचामा स्याउ टिप्न प्रतिबन्ध लगाइएको छ।

मुस्ताङको स्याउ बगैँचामा पूर्ण विकसित नहुँदै स्याउ धनी र व्यापारीको मिलेमतोमा बजार पुर्याउने भएकाले उपभोक्ताले मुस्ताङको स्याउको गुणस्तर खस्किएको गुनासो गर्न थालेपछि यस्तो कदम चालिएको हो ।

पछिल्लो समय सकभर असोज अगावै मुस्ताङको स्याउ व्यापारीले असोज अगावै बजार पुर्याउने गर्दा मुस्ताङमा उत्पादित स्याउ गुणस्तर नभएको भन्ने गुनासो आउन थालेको थियो।

स्याउधनीले पूर्णरूपमा स्याउ नपाक्दै व्यापारीलाई बिक्री गरेर टिप्न दिँदा स्याउ बगान असोज नलाग्दै रित्तिन थालेपछि गतवर्ष पनि स्याउ टिप्न रोक लगाइएको थियो ।