पत्थरीको अपरेसनपछि विरामीको मृत्यु प्रकरण : अस्पतालले छोराको पढाई र छोरीको विवाह खर्च व्यहोर्ने

पत्थरीको अपरेसनपछि विरामीको मृत्यु प्रकरण : अस्पतालले छोराको पढाई र छोरीको विवाह खर्च व्यहोर्ने


धनगढी ।

धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिले विरामीको उपचारको क्रममा मृत्यु भएपछि मृतक परिवारका सदस्यलाई क्षतिपूर्ति उपलब्ध गराएको छ ।

सो अस्पतालमा पत्थरीको अपरेसन बिग्रेपछि मिर्गौला झिकिएका कञ्चनपुरको बेलौरी नगरपालिका –१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको सोमबार मृत्यु भएको थियो । चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलित भएका थिए ।

सोमबार अबेर राति अस्पताल र मृतक पक्षबीच भएको छलफलमा क्षतिपूर्ति दिने सहमति भएको थियो ।

अस्पतालले क्षतिपूर्तिस्वरुप मृतकका छोरा ज्योतिप्रकाश चौधरीलाई पढाई खर्च र छोरीको विवाह खर्च दिने भएपछि शव बुझेको मृतकका भतिजा राजकुमार चौधरीले जानकारी दिए ।

मृतकका छोरा ज्योतिप्रकाश चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा यसैवर्षबाट एमबीबीएस अध्ययन गरिरहेका छन् ।

यसैगरी, घटनाबारे छानविन गर्ने र चिकित्सकको लापरवाही पुष्टि भएमा दोषीमाथि कारबाही गर्ने सहमति भएको मृतकका भतिजाले बताए

भदौ ९ गते सो अस्पतालमा पत्थरीको सल्यक्रिया गरिएका ऐजनलालको सोमबार विहान मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । बायाँ मिर्गौलामा रहेको पत्थरीको सल्यक्रियापछि उनको अत्यधिक रक्तस्राव भएर मृत्यु भएको थियो ।

रगत बग्नेक्रम नरोकिएपछि चिकित्सकले दोस्रो पटक सल्यक्रिया गरेर चौधरीको मिर्गौला झिक्नू भएको थियो । अस्पतालका चिकित्सक डा.जोनस तिवारीले विरामी चौधरीको सल्यक्रिया गरेका थिए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश जोशीले मृतकका परिवारलाई किरियाखर्च बापत २५ हजार रुपियाँ उपलब्ध गराएको बताए ।