बेनी–जोमसोम–कोरला सडक : १० स्थानमा ठुला पहिरोको जोखिम

बेनी–जोमसोम–कोरला सडक : १० स्थानमा ठुला पहिरोको जोखिम


म्याग्दी ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्डमा १० स्थानमा ठुलो पहिरोको जोखिम रहेको अध्ययनबाट पहिचान भएको छ ।

म्याग्दीको बेनीबाट मुस्ताङको घाँससम्मको ४० किलोमिटर दूरीको सडक पहिरोबाट प्रभावित छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत् प्रजापतिले बेनी–घाँसा खण्डका पहिरोको विस्तृत अध्ययन थालिएको जानकारी दिए ।

उनका अनुसार रघुगंगा गाउँपालिका–३ गलेश्वर पारिको राहुघाट, अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से, जलथले–खामभित्ता क्षेत्रको पहिरो विस्तृत अध्ययन सम्पन्न गरी रोकथाम तथा संरक्षणको काम थालिएको छ । रघुगंगा गाउँपालिका–२ बैंसरी खण्डको पहिरो नयाँ हो । यो पहिरोको विस्तृत अध्ययन गर्ने योजना बनाइएको छ ।

बैंसरी खण्डका साथै अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने रुप्से झरनाबाट काभ्रेभिर क्षेत्रमा करिब ५ सय मिटर क्षेत्रमा माथिबाट पहिरो झर्ने र तलबाट सडक भासिने गर्छ । त्यस्तै सोही वडाको खाम भित्ता, गुइँठेभिर, लाटाखोलामा पनि बर्सेनि निरन्तर माथिबाट पहिरो झर्ने गरेको छ । यस्तै अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने नागढुंगा, भुरुङभिर, वडा नं ६ मा पर्ने टिम्मुरेभिर क्षेत्रको साँघुरो भूगोल, छेउकै कालीगण्डकी नदी र बारम्बार माथिबाट खस्ने पहिरोले सडक जोखिम बनाएको छ ।

रघुगंगा गाउँपालिका–१ बेगखोला–२ मासखर्क, कुनौटो, रिठाबोट–३ मा पर्ने चमेरे र गलेश्वर पारि पहिरोको जोखिम छ । भूगर्भविद्हरूले गरेको अध्ययनअनुसार कमजोर भूगोल रहेका गलेश्वर, खामभित्तामा तल निर्मित सडकले बलियो संरक्षणका संरचना नबनाएको र माथिल्लो खण्डमा पनि संरक्षणबिना डोजर चलाएर सडक खनिएकाले पहिरो गएको देखाएको छ ।

सडक निर्माण सुरु गर्नुअघि सम्भावित पहिरो जाने स्थानको पहिचान र रोकथामका लागि कुनै अध्ययन गरिएको थिएन । जसका कारण अहिले सडकमा पहिरोले जोखिम निम्त्याएको छ । पहिरोका कारण वर्षात्का समयमा यातायात प्रभावित हुने गरेको छ । यात्रुले सास्ती भोग्दै आएका छन् ।

बेनी–जोमसोम–कोरोला सडकको सर्भे, डिजाइन गर्दादेखि ठेक्का भई सडक निर्माण भइरहँदा कतै पनि पहिरोको अवस्था अध्ययन गरिएको थिएन । कोरिडोरको म्याग्दी खण्डको सडकको अधिकांश भागमा पहिराको जोखिम छ ।

बेनीबाट घाँससम्म बर्सेनि पहिराले दुःख दिने गरेको छ भने सवारी दुर्घटना पनि निम्त्याएको छ । पहिराले दुःख दिन थालेपछि एक वर्षयता भूगर्भविद्को टोलीबाट पहिरोको विस्तृत अध्ययन भइरहेको आयोजना प्रमुख प्रजापतिले बताए ।