२ घण्टाको बाटो पार गर्न ७ घण्टा !

२ घण्टाको बाटो पार गर्न ७ घण्टा !


नवलपुर ।

विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डको यात्रा बर्खाको समयमा निकै सकसपूर्ण हुँदै आएको छ ।

यसखण्डको सडकमा बनेका ठूला–ठूला खाल्डाका कारण गन्तव्यसम्म पुग्दा ढिलो तथा यात्रा निकै नै कठिन हुने गरेको नियमित हिँड्डुल गर्ने यात्रुहरु बताउँछन् ।

कावासोतीको थकालीचोकमा व्यवसायी माधव सुवेदी यहाँबाट नारायणगढ पुग्न करिब २ घण्टा लाग्ने गरेको गुनासो गर्छन् । “दूरीको हिसाबले जम्मा ३० किलोमिटर छ, कावासोतीबाट मोटरसाइकल लिएर नारायणगढ पुग्दा दुई घण्टा लाग्छ”, उनी भन्छन् , “सडकमा ठूल्ठूला खाल्डा बनेका छन्, पानी परेको बेलामा खाल्डा नदेख्दा बाइक ती खाल्डोमा पर्छ ।”

बर्खाको समयमा सडकमा बनेका खाल्डाखुल्डी नपुरिदिँदा साना सवारीसाधनलाई यस सडकमा आवतजावत गर्नै समस्या हुने गरेको व्यवसायी सुवेदी बताउछन् । “पसलको सामान लिन नारायणगढ पुग्यो, त्यहाँ पुग्दा पूरै हिलैहिलो भइन्छ”, उनी भन्छन्, “आफ्नै सवारीसाधनमा जाँदा त २ घण्टा लाग्छ, यस मार्गमा चल्ने बसमा नारायणगढ पुगेर आउँदा पूरै दिन लाग्छ ।”

बिग्रिएको सडकका कारण साना सवारीसाधन तथा चालकसहित ठूला सवारीसाधनलाई समेत उस्तै सास्ती खेप्नुपरेको छ ।

सडकका खाल्डाखुल्डीका कारण पार्टपुर्जा बिग्रिने र भाँचिने समस्या समेत आउने गरेको सञ्चालक खरेलको भनाइ छ ।

नारायणगढबाट बुटवलसम्मको ११३ किलोमिटर सडक पार गर्न बर्खाको समयमा ७ घण्टासम्म लाग्छ ।

पछिल्लो १० वर्षदेखि यस सडकमा गाडी चलाउँदै आएका वीरबहादुर महतोले पहिले दैनिक ३ पटकसम्म गाडी चलाउने गरेकामा अहिले एकपटक आउन र जान पनि ढिला हुने गरेको बताउछन् ।

५ वर्ष अगाडिदेखि सुरु भएको सडकको दुरावस्था अझै समाधान नभएको उनको भनाइ छ ।