महानगरले ७१ लाखमा निमार्ण गर्यो भार्लाङ सिँचाइ योजना, अब बाह्रैमास तरकारी खेती गर्न सकिने

महानगरले ७१ लाखमा निमार्ण गर्यो भार्लाङ सिँचाइ योजना, अब बाह्रैमास तरकारी खेती गर्न सकिने


भरतपुर ।

चितवनको भरतपुर महानगरपालिका–२९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ ।

महानगरपालिकाको ७१ लाखको लागतमा निर्माण भएको योजनाको सोमबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरीन् ।

महानगरपालिकाले भूमिगत सिँचाइलाई पनि प्राथमिकता दिइरहेको छ । ५ वर्षको अवधिमा विभिन्न अयोजनामार्फत समन्वय गरेर ७ हजार बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको प्रमुख दाहालले बताइन् ।

उक्त आयोजनाका इन्जिनियर विजयराज न्यौपानेले सिँचाइ योजनामार्फत जुगेडी, लामा गाउँ, सिमलडाँडा, नेवार गाउँ, चेपाङ टोलदेखि चौतारासम्मका नागरिक लाभान्वित भएको जानकारी दिए । मुख्य पाइप लाईन विस्तारमा ४३ लाख, ट्यांकी निर्माणमा २० लाख र शाखा पाइपलाईन विस्तारमा ८ लाख खर्च भएको छ । आयोजनाको काम २०७८ सालदेखि सुरु भएको हो ।

सिँचाइ कुलो नहुँदा हिँउदे खेती लगाउन नपाएर पुरै जमिन बाँझो राख्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय भार्लाङ टोल विकास संस्थाका अध्यक्ष मिलन श्रेष्ठ बताउछन् । ‘मकै, कोदो लगाउँथ्यौँ । तरकारी र धान रोप्न पानी नहुने, उनले भने, “यसवर्ष ८ कठ्ठामा धानसमेत रोपेको छु । अहिलेसम्म राम्रो देखिएको छ ।’ उनले तरकारी खेतीको समेत विस्तार गर्ने योजना रहेको सुनाए ।

भरतपुर महानगरपालिकाको सहयोगमा करिब ३ किलोमिटर दुरीमा रहेको भार्लाङ खोलाबाट बस्तीमा सिँचाइका लागि पानी ल्याइएको छ । खोलाको पानी ट्यांकीमा संकलन हुन्छ । ट्यांकीको क्षमता डेढ लाख लिटरको छ । त्यहाँबाट पाईमार्फत किसानको खेत खेतमा पानी पुर्‍याइएको उनले बताए ।