स्याङ्जामा लम्पी स्किनबाट आधा करोड क्षति

स्याङ्जामा लम्पी स्किनबाट आधा करोड क्षति


स्याङ्जा ।

पशुजन्य रोग लम्पी स्किनबाट पशुचौपायाको मृत्यु हुँदा स्याङ्जामा आधा करोड बराबरको क्षति भएको छ ।

पछिल्लो समय पशुमा महामारीका रूपमा फैलिएको लम्पी स्किनबाट १२१ पशुचौपायाको मृत्यु हुँदा जिल्लामा ४७ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको हो । जिल्लाका ११ स्थानीय पालिकामा फैलिएको रोगबाट २ हजार ३१७ पशु संक्रमित हुँदा १२१ पशुको मृत्यु भएको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मृत्यु हुनेमा ११ बाच्छाबाच्छी, ३८ गाई, ७ भैँसी र ६५ गोरु छन् ।

११ बाच्छाबाच्छीको मृत्यु हुँदा १ लाख १० हजार क्षति भएको छ । ३८ वटा गाईको मृत्यु हुँदा १९ लाख, ७ भैसीको मृत्युबाट ४ लाख २० हजार र ६५ गोरुको मृत्यु हुँदा १३ लाख बराबरको क्षति भएको हो । लम्पी स्किन रोगबाट जिल्लामा झन्डै ५ हजार पशुपालक कृषक प्रभावित भएको केन्द्रले जनाएको छ ।

‘लम्पी स्किन रोग सरुवा रोग नभए पनि घरपालुवा पशुको हेरचाह र उपचारमा ढिलाइ गर्दा ठुलो रकम बरारबको क्षति भएको हो,’ विज्ञ केन्द्रका निमित्त प्रमुख गोपाल गिरिले भने, पशुचौपायाको हेरचाह र समयमै उपचार गरेको भए सवा सय पशुचौपायाको मृत्यु हुने थिएन ।’

मृत्यु भएका पशुचौपाया र उपचार खर्चमा गरी जिल्लामा झन्डै १ करोडभन्दा बढीको क्षति भएको प्रमुख गिरिले जानकारी दिए ।

रोग नियन्त्रण गर्न विज्ञ केन्द्रले स्थानीय पालिकालाई ५ हजार ६०० डोज खोप उपलब्ध गराएको छ । जिल्लाका ११ मध्ये ५ पालिकाले मात्रै ४ हजार २५० डोज खोप खरिद गरेका छन् । अन्य पालिकाले खोप खरिद गर्न नसक्दा संघीय सरकारले दिएको अनुदान रकम समेत फ्रिज भएको छ ।

संघीय सरकारको अनुदान र आन्तरिक आयको रकमबाट वालिङले २ हजार, भीरकोटले ८०० र चापाकोट नगरपालिकाले ४०० तथा आँधीखोलाले ६०० र अर्जुनचौपारी गाउँपालिकाले ४५० डोज खरिद गरेका छन् । संघीय सरकारले प्रत्येक पालिकालाई खोप खरिदका उपलब्ध गराएको १ लाख रुपैयाँ ६ लाख रुपैयाँ फ्रिज भएको छ ।

लामखुट्टे, किर्ना र भुसुनाको टोकाइबाट स्वस्थ पशुमा सर्ने यो रोग लागेमा पशुचौपायालाई कडा खालको ज्वरो आउने, खानामा अरुचि हुने र झोक्राउने लक्षण देखिन्छ । लक्षण देखिएको २÷३ दिनमा पशुको शरीरभरि छालामा गिर्खा र गाँठाहरू देखिन्छ । पछिल्लो समय रोगको संक्रमण दर घटेको र खोप लगाएकाले रोग नियन्त्रणमा रहेको विज्ञ केन्द्रले जनाएको छ ।