सुन प्रकरणमा विनाकारण दुःख दिएको भन्दै विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे एकैसाथ सरुवा

सुन प्रकरणमा विनाकारण दुःख दिएको भन्दै विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे एकैसाथ सरुवा


काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरुवा मागेका छन् ।

विभागका महानिर्देशकलाई सम्बोधन गर्दै मंगलबार ३५ अधिकृतसहितका कर्मचारीले एकैसाथ सरुवा मागेका हुन् ।

‘६० किलो सुनका विषयलाई लिएर विभिन्न निकायबाट अनुसन्धान र छानबिनको वहानामा विनाकारण दुःख दिने र मानसिक रुपमा क्षतविक्षत बनाउने काम भएको’ भन्दै उनीहरुले सामुहिक सरुवा मागेका हुन् ।

सामूहिक सरुवा माग्दै उनीहरुले भन्सार विभागमा निवेदन दिएका छन् ।

राज्यबाट उपलब्ध स्रोत, साधनको अधिकतम उपयोग गरेर आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म असल नियत र मनसायका साथ कार्यजिम्मेवारी पूरा गर्दै आएकामा अहिले विनाकारण दुःख दिने काम भएकाले कामकाज गर्न कठिनाइ भएको निवेदनमा उल्लेख गरिएको छ ।

विनाकारण भोग्नु परेको मानसिक तनावका कारण घर, परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको कर्मचारीहरुले उल्लेख गरेका छन् । ‘हामीसँग सरोकार राख्ने विभिन्न निकायले हामीप्रति हेर्ने दृष्टिकोण समेत पूर्ण रुपमा नकरात्मक हुँदै गएको अवस्था छ’, निवेदनमा भनिएको छ ।