दैनिक ३ सय बढी बिरामी आउन थालेपछि भूइँमै राखेर उपचार

दैनिक ३ सय बढी बिरामी आउन थालेपछि भूइँमै राखेर उपचार


इलाम ।

इलाम अस्पतालमा आउने बिरामीलाई शय्या अभाव भएपछि भूइँमै राखेर उपचार गर्न थालिएको छ ।

पछिल्लो समय अस्पतालमा डेंगु , ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि शय्या अभाव हुँदा भूइँमै राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

अहिले दैनिकजसो ७० देखि ८० को सङ्ख्यामा आकास्मिक कक्षमा बिरामी आउने गरेको आकास्मिककक्ष इन्चार्ज टीका लुइँटेलले जानकारी दिए । उनका अनुसार अस्पताल आउने मध्ये अधिकांश डेङगु, स्कपसाइफस र भाइरल ज्वरोका बिरामी छन् ।

“जीउ दुख्ने, हात खुट्टा करकर खाने, आँखाका दाना दुख्ने, प्रेसर कम हुने, ज्वरो अत्याधिक आउने लक्षणहरु लिएर अधिकांश बिरामी आउने गरेका छन्”, लुइँटेलले भने, “अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई भूइँमै भए पनि उपचार गरिरहेका छौँ ।”

अस्पतालको ओपिडीमा पनि दैनिक ३७५ जनासम्म बिरामी आउने गरेका अस्पतालका व्यवस्थापक क्षितित खतिवडाले जानकारी दिए । उनका अनुसार आकस्मिक कक्षमा जम्मा ११ शय्या मात्र छन् ।

उनका अनुसार साउन र भदौ १० गतेसम्ममा जाँच गराउन आउनेमध्ये ४१ जनामा डेंगु पुष्टि भएको छ । सोही अवधिमा २४ जनामा स्कपटाइफस देखिएको छ । “यीमध्ये डेंगुका १० र स्कपटाइफसका ५ जना बिरामीलाई भर्ना नै गरेर उपचार गराएका छौँ”, उनले भने ।

जिल्लामा अहिलेसम्म २ सय ३ जनामा डेंगु पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।