नक्कली बिल बनाई १४ लाख झ्वाम, बोदेबर्साइनका मेयरसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली बिल बनाई १४ लाख झ्वाम, बोदेबर्साइनका मेयरसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं ।

सप्तरीको बोदेबर्साइन नगरपालिकाका नगरप्रमुख आतेषकुमार सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बोदेबर्साइन नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि वडा –६ फुलकाहीको माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेको थियो । तर नक्कली बिल भर्पाइ र झुटा बिल बनाएर १४ लाख ७१ हजार ९२१ रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको अख्तियारको दाबी छ ।

मेयर यादव र वडा ४ का तत्कालीन वडाध्यक्ष रामानन्द चौधरी र नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतले स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो भनी गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनका आधारमा कृषक समूहलाई भुक्तानी दिएको अख्तियारले जनाएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव र लेखापाल सरोजकुमार मण्डलले नक्कली बिल भर्पाइकै आधारमा भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरेर कृषक समूहलाई भुक्तानी दिएको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अख्तियारले नगरपालिकाका पशुविकास अधिकृत अर्जुनप्रसाद यादव, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्माविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।