विशेषज्ञ सेवा दिँदै आँखा अस्पताल, स्थानीयलाई भने छैन पत्तो

विशेषज्ञ सेवा दिँदै आँखा अस्पताल, स्थानीयलाई भने छैन पत्तो


डडेल्धुरा ।

यहाँ रहेको आँखा अस्पतालले विगत लामो समयदेखि विशेषज्ञ चिकित्सकमार्फत सेवा प्रदान गरिरहेको छ ।

नेपाल नेत्रज्योति संघअन्तर्गत गेटा आँखा अस्पतालले सञ्चालन गर्दै आएको डडेल्धुरा आँखा अस्पतालले विशेषज्ञ सेवा प्रदान गर्दै आएको हो ।

अस्पतालको सेवाबारे धेरै सेवाग्राहीलाई जानकारी नै छैन । विगत १ वर्षदेखि आँखा रोग विशेषज्ञ डा मुकेश पाण्डेयले सो आँखा अस्पतालबाट विशेषज्ञ सेवा प्रदान गर्दै आएका आँखा अस्पतालले जनाएको छ ।

सामान्य उपचारदेखि मोतिया विन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको, गाँठागुँठी भएको लगायतका आँखासम्बन्धी जटिल रोगको उपचार डडेल्धुरा आँखा अस्पतालमै भइरहेको अस्पतालका इन्चार्ज बेञ्जना बेल्बासेले जानकारी दिइन् ।

विशेषज्ञ उपचारका बारेमा स्थानिय तथा आँखा सम्बन्धीका बिरामीहरुले थाहा नपाउँदा उनीहरु उपचारका लागि गेटा आँखा अस्पतालसमेत धाउने गरेका छन् ।

यसका बारेमा जानकारी भए सजिलो र कम खर्चमा जिल्लामा नै जटिल समस्याको पनि समाधान भइरहेको इन्चार्ज बेल्बासेले वताइन् । उनका अनुसार दैनिक अहिले १००  बिरामी अस्पताल पुग्न थालेका छन् । सयमध्ये ६० जना आँखा पाक्ने रोगबाट ग्रसित भएका बिरामी आउने गरेका छन् । “आँखाका विभिन्न समस्याबाट पीडित भएका १०० जनाको मासिक शल्यक्रिया पनि भइरहेको छ”, उनले भनिन् ।

प्रदेशका सातवटै पहाडी जिल्लाबाट बिरामी आउने गरेको भए पनि उपलब्ध सेवाअनुसार बिरामीको चाप बढ्न नसकेको अस्पतालले जनाएको छ ।

अस्पतालमा पुग्ने बिरामीमध्ये एक प्रतिशतलाई मात्रै अन्यत्र पठाउने गरिएको बेल्बासेले जानकारी दिए । नेपाल नेत्रज्योति संघका जिल्ला अध्यक्ष शिवराज पन्तले अस्पतालसँगै विभिन्न समयमा शिविरमार्फत पनि सेवा दिइरहेको बताए । उक्त आँखा अस्पताल जिल्ला सदरमुकाम सँगै जोडिएको घटालथान जाने बाटोमा रहेको छ।