सदस्यकाे किर्ते हस्ताक्षर गरी अध्यक्ष र काेषाध्यक्षद्वारा २० लाख झ्वाम !

सदस्यकाे किर्ते हस्ताक्षर गरी अध्यक्ष र काेषाध्यक्षद्वारा २० लाख झ्वाम !


काठमाडौँ ।

उपभोक्ता समितिका नाममा राज्यको बजेट कसरी दोहन हुन्छ भन्ने उदाहरण बेलकोटगढी नगरपालिकामा देखिएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा-१३ को एक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले समितिका अन्य सदस्यहरूको फर्जी हस्ताक्षर गरी २० लाख रुपैयाँको बजेटमा हालीमुहाली गरेको नयाँ तथ्य बाहिर आएको हो ।

प्राप्त सूचनाअनुसार डाँडाकटेरी कटरमहल तल्लो पाखुरे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका नाममा समितिका अध्यक्ष र कोषाध्यक्षले समितिका सदस्यको किर्ते हस्ताक्षरमा २० लाख रुपैयाँको योजनाको एकलौटी फर्छ्यौट गरेका हुन् ।

बाग्मती प्रदेशअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धादिङबाट विनियोजित २० लाख रुपैयाँको आयोजनाको रकम फर्छ्यौट गर्न उपभोक्ता समितिका अध्यक्ष दीपेशप्रसाद पाण्डे र कोषाध्यक्ष सृजना पाण्डेले किर्ते हस्ताक्षर गरी माइन्युट गरेको पाइएको हो ।

रोचक कुरा त २० लाख रुपैयाँको आयोजना सम्पन्न गर्न बैंक खाता खोल्नेदेखि काम सम्पन्न भइसकेको र अन्तिम किस्ता रकम मागसमेतको माइन्युट एकै दिन एउटै माइन्युटमा गरिएको छ ।

फागुन १८ गते बसेको भनेर बनाइएको किर्ते माइन्युटमा ९ जना कार्यसमिति बसेको हस्ताक्षर छ । अध्यक्ष र कोषाध्यक्षबाहेक अन्य कसैलाई पनि नबोलाई गरिएको उक्त माइन्युटमा समितिका अन्य सबै सदस्यको हस्ताक्षर किर्ते गरिएको पाइएको हो ।

आफैँ माइन्युट लेख्ने, आफैँलाई खाताको अख्तियार प्रत्यायोजन गर्ने निर्णय गरिएको उक्त माइन्युटमा काम यसअघि नै सम्पन्न भइसकेको, भुक्तानी माग्ने, खाता खोल्ने, खाताका लागि सिफारिस माग्ने मात्र होइन खाता सञ्चालनको अख्तियार अध्यक्ष र कोक्षाध्यक्षलाई दिने निर्णय गरिएको छ ।

सबै कार्यसमिति सदस्यलाई थाहै नदिई किर्ते हस्ताक्षर र निर्णय गरेर पाण्डेले २० लाख रुपैयाँ बजेट झ्वाम्म पारेकाे बाँकी सदस्यले लामो समयसम्म थाहै पाउन नसकेको पाइएको छ ।

उपभोक्ता समितिको खाता सञ्चालन तथा बजेट फर्छ्यौटका लागि वडा अध्यक्षको सिफारिस चाहिन्छ । रोचक कुरा त वडाध्यक्षले किर्ते हस्ताक्षर गरेको निर्णय चाल पाउँछन् भन्ने लागेर उनीहरूले वडाध्यक्ष नभएको मौका छोपी सिफारिस लिएकोसमेत खुलेको छ ।

वडाध्यक्ष नवराज पाण्डे काम विशेषले काठमाडौँ गएका बेला वडा सदस्य हरिकुमार गुरुवाचार्यलाई कार्यवाहक तोकेका थिए । गुरुवाचार्य कार्यवाहक भएका बेला झुक्याएर काम सम्पन्न भएको भन्दै सिफारिस लिन गएपछि गुरुवाचार्यले बजेट फर्छौटको सिफारिस गरिदिएका थिए ।

यस विषयमा वडा सदस्य गुरुवाचार्य आफू कार्यबाहक भएको बेला सबै योजना सम्पन्न भयो भन्दै सबै कागजातका साथ आएकाले सिफारिस गरिदिएको बताउँछन् ।

समितिका सचिव कसरी रकम भुक्तानी भयो भन्दै सोधखोज गर्दै आएपछि मात्र अध्यक्ष तथा कोषाध्यक्षको किर्ते उजागर भएको थाहा पाएको उनले बताए । वडाध्यक्ष नवराज पाण्डे उपभोक्ताहरूले खानेपानी आयोजनाको काम र गुणस्तरको विषयमा कुरा गरेपछि मात्रै बुझ्न जाँदा डाँडाकटेरी कटरमहलमा काम भएको र पाखुरेमा कामै नभई भुक्तानी लिएको र समितिका सदस्यहरूलाई समेत झुक्याएर रकम भुक्तानी लिएको खुल्न आएको बताउँछन् ।

‘यस विषयमा समितिका अध्यक्ष तथा कोषाध्यषको मिलेमतो र किर्ते देखिन्छ, आवश्यक बुझ्ने काम भइरहेको छ,’ उनले भने । यस विषयमा पटक-पटक बुझ्न खोज्दा उपभोक्ता समितिका अध्यक्ष सम्पर्कमा आउन मानेनन् ।

यसैबीच समितिका अध्यक्ष र कोषाध्यषको किर्ते धन्दा बाहिरिएसँगै वडा कार्यालयले यस विषयमा सरोकारवालालाई बोलाएर सोधपुछ गरेको छ ।