जुटको उत्पादन बढेको बढ्यै, मूल्य घटेर ८ हजारमा झर्‍याे

जुटको उत्पादन बढेको बढ्यै, मूल्य घटेर ८ हजारमा झर्‍याे


मोरङ ।

पूर्वी तराई क्षेत्रमा पछिल्लो समय जुटको उत्पादन बढ्दै गएको छ । उत्पादन बढे पनि जुटको मूल्यमा भने गिरावट आएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा मोरङमा ७ हजार ३५१.५० मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०७९/७० मा ७ हजार ४०९.५० मेट्रिक टन जुट उत्पादन भएको थियो । विगत वर्षमा भन्दा यस वर्ष उत्पादन बढेको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेब सिंहले बताए ।

मोरङमा विगतका वर्षमा प्रति हेक्टर १.४५ मेट्रिक टन जुट उत्पादन भएको तथ्यांक छ । यस वर्ष उत्पादन बढेर प्रति हेक्टर १.५० मेट्रिक टन पुग्ने प्रमुख सिंह बताउछन् । आव २०७८÷७९ मा जुटको मूल्य प्रतिक्विन्टल ११ हजार थियो । गत आवमा जुटको मूल्य प्रतिक्विन्टल ९ हजार थियो भने यस वर्ष घटेर जुटको मूल्य प्रतिक्विन्टल ८ हजार ३०० पुगेको ज्ञान केन्दले जनाएको छ ।

कोशी प्रदेशमा ६ हजार ९६२ हेक्टर जमिनमा जुटखेती गरिन्छ । गत वर्ष सो जमिनमा ९ हजार ९१५ .५० मेट्रिक टन जुट उत्पादन भएको प्रमुख सिंहले बताए ।

प्रदेशभित्र अन्य जिल्लाको तुलनामा झापा, मोरङ र सुनसरीमा जुटको खेती बढी गर्ने गरिएको छ । ज्ञान केन्द्रका अनुसार मोरङका १७ पालिकामध्ये धनपाल, जहदा, ग्रामथान, कानेपोखरी गाउँपालिका र सुनवर्षी, रतुवामाई र रंगेली नगरपालिकामा जुट खेती गर्ने गरिएको छ ।

जुट खेतीको मुख्य समस्या खाडल रहेकोले गत वर्ष मोरङका ३० किसान परिवारलाई जुट प्रवद्धन कार्यक्रमअन्तर्गत २० हजारका दरले खाडल खन्न सहयोग गरिएको कार्यालयले जनाएको छ । मोरङमा ५७० हेक्टर जमिनमा जुटको खेती गरिन्छ ।

झापामा ५५० हेक्टर र सुनसरीमा १ हजार ३३२ हेक्टर जमिनमा खेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ । नेपालमा उत्तपादित जुट सबै स्वदेशमै खपत हुन्छ । नेपालमा भारत र बंगलादेशबाट जुट आयत हुने गरेको छ ।

नेपालमा उत्पादन हुने जुटलाई ३ वर्गमा विभाजन गरिएको छ । रातो खैरो रङको जुटलाई एक नम्बर, सेतो रङको जुटलाई २ नम्बर र कालो रङको जुटलाई ३ नम्बरमा विभाजन गरिएको छ ।