सुन तस्करी प्रकरण : दावा छिरिङले पेमालाई बुबा बनाएर लिएका थिए निमा तामाङको नाममा नागरिकता

सुन तस्करी प्रकरण : दावा छिरिङले पेमालाई बुबा बनाएर लिएका थिए निमा तामाङको नाममा नागरिकता


काठमाडौं ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ ।

गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृहमन्त्रालयले बनाएको छानबिन टोलीले पुष्टी गरेको छ ।

गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न गत साउन २२ गते गृहमन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

समितिमा गृह मन्त्रालयको कानुनी शाखा अधिकृत प्रमोद विक, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने, अध्यागमन विभागका अधिकृत खेमराज सापकोटा र जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत मीनराज थापा हुए ।

समितिले २ हप्ता लगाएर गरेको अनुसन्धानमा उनले नेपालबाट नागरिकता लिएको पुष्टि भएको हो । उनी नेपालमा बेल्जियमको नागरिकका रुपमा पर्यटक भिसामा आएको अवस्थामा पक्राउ परेका थिए ।

उनले नेपाली नागरिकता लिएको पाइएपछि तथ्य पुष्टि गर्न अनुसन्धान टोली गठन गरिएको थियो । सो नागकिरताको यकिन गर्न गरिएको अनुसन्धानमा उनले कीर्ते गरेर नेपाली नागरिकता लिएको पुष्टि भएको छानबिन समितिका एक सदस्यले जानकारी दिए ।

दावालाई गत साउनको १३ गते शनिबार राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । ठमेलको होटल भियानामा छापा मारी उनलाई पक्राउ गरिएको थियो ।

१७ वर्षअघि पनि उनी पक्राउ परेका थिए । उनले २०७४ पुस २० गते नागकिरता लिएको खुलेको थियो । उनीसहित अन्य केही व्यक्तिले पनि नेपाली नागरिकता लिएको खुलेको छ । केहीसँग भारतीय आधार कार्डसमेत भेटिएको थियो । गत साउन ३ गते ब्रेक शुमा राखेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।