१५८ वटा कृषि फार्मले पाए ४ करोड अनुदान, ५८ वटा बोयर बोका वितरण

१५८ वटा कृषि फार्मले पाए ४ करोड अनुदान, ५८ वटा बोयर बोका वितरण


धनकुटा ।
धनकुटा र तेह्रथुमका पशुपक्षीपालक कृषकले करिब ४ करोड अनुदान रकम पाएका छन् ।
आव २०७९/८० मा दुई जिल्लाका १५८ वटा पशुपालनसम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीलाई उक्त अनुदान उक्त अनुदान उपलब्ध गराइएको हो ।
सम्बद्ध कृषकहरूले धनकुटास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ कार्यालयमार्फत विभिन्न सात शीर्षकमा कोशी प्रदेश सरकारको कार्यक्रमबाट ७५ प्रतिशत अनुदान रकम पाएका हुन् ।
कार्यालयका अधिकृत पुष्पराज दाहालका अनुसार १०० वटा दूधजन्य तथा पशुपक्षीपालक संस्था र ५८ वटा बाख्रा फार्मलाई बोयर बोका अनुदानमा उपलब्ध गराइएको थियो । दूधजन्य उत्पादन कार्यक्रमअन्तर्गत  १० लाख ३० हजार १३५ बराबरको मोटरसहितको च्यापकटर ३५ थान वितरण गरिएको थियो ।
त्यस्तै युवालक्षित पशुविकास कार्यक्रमअन्तर्गत २५ वटा फर्मलाई ४९ लाख ४१ हजार ३०० र सहकारी संस्थामार्फत पशुपालन कार्यक्रमअन्तर्गत १ संस्थालाई ३ लाख ४६ हजार ५ सय ३९ अनुदान दिइएको थियो ।
बाख्राको बृहत्तर पकेट प्याकेज कार्यक्रमअन्तर्गत २ वटा फार्मलाई ८९ लाख ८९ हजार ९ सय र द्वन्द्वपीडित पशुपक्षीपालन कार्यक्रमअन्तर्गत छ वटा फार्मलाई  १६ लाख ३७ हजार १ सय ३४ अनुदान दिइएको थियो ।
त्यस्तै दूध उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत ३१ संस्थालाई १ करोड ९५ लाख २ हजार २१ अनुदान दिइएको थियो । कार्यालयले २ जिल्लाका ५८ बाख्रापालक फार्मलाई  ३९ लाख ३० हजार बराबरको ५८ वटा उन्नत जातको बोयर बोका वितरण गरेको थियो ।
जिल्लागतरुपमा धनकुटाका ८७ वटा र तेह्रथुमका ७१ वटा दुग्धजन्य तथा पशुपक्षीपालक फार्म तथा संस्थाले अनुदान पाएका थिए । जसमा धनकुटाका ५७ र तेह्रथुमका ४३ वटा दुग्ध उत्पादक तथा पशुपक्षीपालक फार्महरू र बोयर बोका अनुदान तर्फ धनकुटाका २८ र तेह्रथुमका ३० वटा बाख्रा फार्मले अनुदान पाएका थिए ।
स्थलगत भ्रमण गरेर अनुदान रकम प्रदान गरिएकाले अनुदानको उचित सदुपयोग भएको धनकुटास्थित भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयका प्रमुख लोकनाथ ढुङ्गानाले जानकारी दिए ।
आगामी दिनमा अनुदान नीति निर्धारण गर्न आउँदो वर्ष अन्य अनुदान घटाएर दुग्ध उत्पादनमा आधारित अनुदानलाई विशेष जोड दिइने र गत वर्ष प्रदान गरिएको अनुदानको प्रभावकारिताको अनुगमन गरिने उनको भनाइ थियो ।
२ जिल्लामा हाल ५ सय ७२ वटा व्यावसायिक पशुपक्षी फार्म रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । तीमध्ये धनकुटामा सबैभन्दा धेरै १ सय ५२ वटा व्यवसायिक बाख्रा फार्म छन् । त्यस्तै जिल्लामा १२५ वटा गाईभैँसी, १११ बङ्गुर र ६९ वटा व्यवसायिक कुखुरा फार्म रहेका छन् ।
तेह्रथुम जिल्लामा पनि सबैभन्दा धेरै ५२ वटा व्यावसायिक बाख्रा फार्म छन् । त्यस्तै जिल्लामा २९ गाईभैँसी, २५ बङ्गुर फार्म र ९ वटा व्यावसायिक कुखुरा फार्म रहेको कार्यालले जनाएको छ । डेरी तथा दुग्ध संकलन केन्द्रतर्फ धनकुटामा ३४ दुग्ध संकलन केन्द्र र १८ वटा डेरी उद्योग सञ्चालनमा छन् । तेह्रथुम जिल्लाको भने कार्यालयमा तथ्यांक आई नपुगेको कार्यालयले जानकारी दिएको छ ।
अहिले धनकुटामा ६२ हजार ५७५ गाई, १७ हजार २ सय भैँसी, १८ लाख १ हजार ३७१ बाख्रा, ३९ हजार २४० बङ्गुर, ३०८ भेडा र ४० लाख १ हजार ४ सय ५४ कुखुरा छन् ।
त्यस्तै तेह्रथुम जिल्लामा गाई ५८ हजार २७, भैँसी २७ हजार ८१, बाख्रा १ लाख २७ हजार २ सय ३७, बङ्गुर ३७ हजार ५ सय ४६, भेडा ९ सय ४० र कुखुरा २ लाख २५ हजार ४ सय ९६ रहेको कार्यालयले जनाएको छ  ।