४ हजार क्विन्टल खाद्यन्न पुर्‍याएको ढुवानी खर्च मात्र ३ करोड

४ हजार क्विन्टल खाद्यन्न पुर्‍याएको ढुवानी खर्च मात्र ३ करोड


हुम्ला ।

काठमाडौं बाट केरुङ हुँदै हुम्लाका लागि आएको खाद्यन्न हिल्सा आइपुगेको छ ।

खाद्यन्न लोड भएका गाडीले केरुङबाट तिब्बती मार्गहुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न ३ दिन लगाएका थिए ।

हुम्लाका लागि खाद्यन्न बोकेका ४० वटा गाडी हिल्सा आइपुगेको लिमिटेड सिमकोट शाखाले जनाएको छ । ३ दिन अगाडि खाद्यन्न लोड भएका ४० गाडी काठमाडौँबाट छुटेका थिए ।

खाद्यन्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यन्न पैदल मार्गबाट पठाएको हो । जिल्लामा खाद्यन्न समस्या देखिएका बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्वीन्टल खाद्यन्न हिल्सा आइपुग्ने लिमिटेड शाखाका प्रमुख कृष्ण अधिकारीले बताए ।

खाद्यन्न अब सिमकोट ढुवानी गर्ने तयारी भइरहेको उनले बताए । उक्त खाद्यन्नमध्ये एक हजार क्विन्टल नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ बिक्री केन्द्रका लागि र ३ हजार क्विन्टल सिमकोट शाखाका लागि ढुवानी हुनेछ ।

ती खाद्यन्न अघिल्लो आर्थिक वर्षको हो । खाद्यन्न सिमकोट पुगेलगत्तै सर्वसाधारणलाई बिक्री वितरण गरिने छ । तिब्बती मार्ग हुँदै आउने खाद्यन्न हवाई मार्गको खाद्यन्नभन्दा ढुवानीदर सस्तो पर्नेछ ।

काठमाडौंँ, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुगेको खाद्यन्न प्रतिक्वीन्टल ७ हजार ५ सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्विन्टल खाद्यन्न ४ हजार ८ सय ढुवानी लाग्नेछ । जब कि नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यन्नको भाडा प्रतिक्वीन्टल १६ हजार लाग्ने गर्छ भने सुर्खेतबाट प्रतिक्वीन्टल १५ हजार ५ सय लिमिटेडले तिर्दै आएको छ ।