जाने हाेइन त सुन्दरीजल-चोभार र्‍याफ्टिङ ?

जाने हाेइन त सुन्दरीजल-चोभार र्‍याफ्टिङ ?


काठमाडौँ ।

बाग्मती नदीलाई स्वच्छ राख्न र बाग्मती सभ्यताको जगेर्ना गर्ने उद्देश्यले सुन्दरीजलदेखि चोभारसम्म र्‍याफ्टिङ आयोजना गरिने भएको छ ।

जिल्ला समन्वय समिति काठमाडौँले यही भदौ १६ गते शनिबार र्‍याफ्टिङ आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रमले बाग्मती नदीलाई स्वच्छ, सफा र सुन्दर बनाउने, नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने, पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले बताए ।

काठमाडौँ जिल्लाका नदी किनार आसपासका क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि सम्भावनाको खोजी गर्ने, बाग्मती सभ्यतालाई उजागर गर्ने उद्देश्यले काठमाडौँ महानगर र १० वटै नगरपालिकाको सहयोगमा जिल्ला समन्वय समिति काठमाडौँले र्‍याफ्टिङ कार्यक्रम आयोजना गर्न लागेको हो ।

गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलबाट सुरु हुने र्‍याफ्टिङ कार्यक्रमलाई नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघ र बाग्मती प्रदेश र्‍याफ्टिङ एन्ड क्यानोइङ संघले प्राविधिक सहयोग गरेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल एसाेसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नरा)का अध्यक्ष शिव अधिकारीले बाग्मतीको सभ्यता र संस्कृतिको संरक्षण प्रवर्द्धनका साथै जल पर्यटन प्रवर्द्धनमा र्‍याफ्टिङले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।