पर्यटन दिवसमा ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’

पर्यटन दिवसमा ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’


काठमाडौं ।

अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा १०० जनाको ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ हुने भएको छ ।

नेपाल टूरिजम फेस्टिभल दोस्रो संस्करणको तयारीस्वरुप एनटीपी मल्टिमिडिया ग्रुपले एक्सपल्स राइडर्स क्लबसँग मिलेर पहिलोपटक ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ आयोजना गरेको हो । बाइक टूरको सह–आयोजकमा मुकाम मिडिया नेटवर्क र हिमाल मल्टिमिडिया छन् ।

नेपाल पर्यटन बोर्ड, नाट्टा, टान, एफएनसीसीआई लगायत संघ संस्थासँगको समन्वय तथा सहकार्यमा पत्रकार, कलाकार, साहित्यकार, बाइकरसहित १०० जनाको राइडर्स टिमले काठमाडौँ–हेटौंडा–चितवन–लुम्बिनी–पाल्पा–पोखरा रुटमा ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ गर्न लागिएको हो ।

यसअघि ताप्लेजुङ–दार्चुला बाइक टूर सफलतापूर्वक सम्पन्न गरेको एनटीपी मल्टिमिडिया ग्रुपले यसपटक कोभिड महामारी र आर्थिक मन्दीपछि सुस्त देखिएको पर्यटन क्षेत्रलाई उकास्न सहयोग पुग्ने उद्धेश्यले काठमाडौँ–चितवन–लुम्बिनी–पोखरालाई केन्द्रमा राखेर १०० जना राइडर्ससहितको गोल्डेन ट्रयाङ्गल बाइक टूर आयोजना गरेको संयोजक विष्णु विवेकले जानकारी दिए ।

अन्तर्राष्ट्रिय पर्यटन दिवसको दिन सेटेम्बर २७ अर्थात असोज १० गतेदेखि सुरु हुने बाइक टूरको टिम पहिलो दिन चित्लाङ, दामन हुँदै पर्सा राष्ट्रिय निकुञ्जको प्रवद्र्धनका लागि विरगञ्ज पुग्नेछ । सोही दिन निकुञ्ज परिसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर पर्सा निकुञ्जको भ्रमण तथा पत्रकार, कलाकार, साहित्यकार र राइडर्सले पर्यटन प्रवद्र्धन गर्नेछ ।

यसका लागि नाट्टा मधेस प्रदेश, भरतपुर महानगरपालिका र पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय तथा सहकार्य भइरहेको छ ।

दोस्रो दिन असोज ११ गते पर्सादेखि हेटौंडा, सौराहा हुँदै राइडर्सको टिम भरतपुर पुग्नेछ । भरतपुर महानगरपालिकाको ‘भिजिट भरतपुर २०२४’ भ्रमण वर्ष कार्यक्रमलाई सहयोग तथा प्रवद्र्धन गर्न १०० जनाको राइडर्स टिमले नारायणी किनारमा ‘बीच क्रिकेट’ पनि खेल्नेछ । भरतपुरमा मेयर रेणु दाहाल लगायत सरोकारवालासँग अन्तरक्रिया गर्नेछ ।

तेस्रो दिन असोज १२ गते राइडर्स टिम लुम्बिनी पुगेर शान्तिदीप प्रज्ज्वलन गर्नेछ । त्यसको भोलिपल्ट ऐतिहासिक जितपुर गढी किल्ला पुगेर त्यसको प्रवद्र्धन गर्नेछ । यसका लागि नाट्टा लुम्बिनी प्रदेश, बुटवल उपमहानगरपालिका र लुम्बिनी विकास कोषसँग सहकार्य तथा समन्वय भइरहेको संयोजक विवेकले जानकारी दिए ।

चौथो दिन असोज १३ गते राइडर्स टिम पाल्पा रानीमहल पुग्नेछ । रानीमहलको पर्यटन प्रवद्र्धन तथा कार्यक्रमका लागि नाट्टा पाल्पा च्याप्टरको समन्वय तथा तानसेन नगरपालिकासँग सहकार्य हुनेछ । रानीमहलमा पर्यटन प्रवद्र्धनका साथै कालीगण्डकी किनारमा अन्तरक्रिया कार्यक्रमका साथै भलिबल र डोरी तान्ने खेल अर्थात ‘टग अफ वार’ खेल पनि हुनेछ ।

यस्तै पाँचौ दिन १०० जनाको राइडर्स टिम पोखरा पुग्नेछ । पोखरामा आउँदो मंसिरमा हुने नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करणको तयारी तथा ब्राण्डिङका लागि बाइक टूर टिमले लेकसाइडमा समापन कार्यक्रम गर्नेछ ।

यसका लागि पोखरामा पर्यटन महिला व्यवसायी संघ, टेवान र नाट्टा गण्डकी प्रदेश लगायतका संघ संस्थासँग सहकार्य हुनेछ । पोखरामा फेवातालसँगै बेगनासताल र रुपातालको पनि पर्यटन प्रवद्र्धन गरेर राइडर्स टिम असोज १५ गते काठमाडौँ फर्किनेछ ।