चर्किएको धावनमार्ग हेर्दै जहाज चढ्न गाडी चढेर भद्रपुर !

चर्किएको धावनमार्ग हेर्दै जहाज चढ्न गाडी चढेर भद्रपुर !

जहाज उड्नै नपाई अस्ताए पहलकर्ता नेम्वाङ

विकास टाइम्स
507
Shares

२०७८ साल फागुन १ गते पूर्वी जिल्ला इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल धुमधामका साथ उद्घाटन गरियो । इलाम नगरपालिकाले तारा एयरसँग सम्झौता गरेर विमानस्थलबाट नियमित उडान गर्ने भएपछि स्थानीय बासिन्दाले आनन्दको सास फेरेका थिए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमकुमार आले, नेपाल वायु सेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारीलगायतले उक्त विमानस्थलको उद्घाटन गरे । इलामका स्थानीय बासिन्दा नजिकैबाट जहाज उड्ने भएपछि काठमाडौँ आउजाउ गर्न सहज हुने भयो भनेर मख्ख थिए ।

इलाम नगरपालिका–९ मा निर्माण प्रक्रिया सुरु गरेको २ दशकपछि उद्घाटन गरिएको उक्त विमानस्थलमा २०७५ जेठ २१ मा परीक्षण उडान गरिएको थियो भने काठमाडौँबाट उडेको १९ सिट क्षमताको तारा एयरको ट्विनअटर जहाज १ घन्टा २ मिनेटमा सुकिलुम्बामा पहिलोपटक अवतरण गरेको थियो ।

यो विमानस्थलले इलाम मात्र नभई पूर्वी पहाडका थप २ जिल्ला पाँचथर र ताप्लेजुङका बासिन्दालाई पनि काठमाडौँ आउजाउ गर्न राहत हुने विश्वास गरिएको थियो । तर, स्थानीयको खुसी वर्ष दिन पनि टिकेन । उडान सुरु भएको ३ महिना नबित्दै ‘सुरक्षाको दृष्टिकोण’ भन्दै तारा एयरले उडान बन्द गर्‍यो ।

उडान सुरु भएको करिब ३ महिना इलामबाट तारा एयरले १७ वटा उडान सम्पन्न गरेको थियो । सोबापत इलाम नगरपालिकाले एयरलाइन्सलाई ११ लाख रुपैयाँ भुक्तानी गरेको बताइएको छ । ६ महिना नबित्दै २०७९ जेठ १५ गते पोखराबाट जोमसोम उडेको विमान दुर्घटना भएपछि तारा एयरको जहाजले इलाममा उडान गरेन ।

यस्तै, उद्घाटन गरिएको वर्ष दिन नपुग्दै विमानस्थलको धावनमार्ग चर्किन थाल्यो तल्लो भाग त भासियो नै । नियमित उडान नहुँदै धावनमार्ग चर्किएपछि टालटुल पारेर छोप्न पनि खोजिएको थियो ।

३२८ रोपनी क्षेत्रफलमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएको थियो । विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र भएको थियो, जहाँ अहिले चर्किएको छ भने विमानस्थल सुनसान जस्तै भएको छ ।

उडान ठप्प भएको १ वर्षपछि नगरपालिका र नेपाल एयरलाइन्सबीच हप्तामा १ दिन इलाम–काठमाडौँ सीधा उडान भर्ने भनेर सहमति भयो । नेपाल एयरलाइन्सले २२ जेठ २०८० मा अन्तिम उडान भरेको थियो ।

त्यसपछि प्रत्येक बिहीबार इलाम–काठमाडौँ उडान गर्दै आएको नेपाल एयरलाइन्सले पनि २ महिना पूरा भएको छ । त्यसयता यहाँबाट कुनै उडान हुन सकेको छैन ।

धावनमार्गमा सामान्य चिरा परेको स्वीकार गर्छन्– इलाम नगर कार्यपालिकाका प्रवक्ता नूतनराज दुलाल । ‘पूर्वाधारहरूमा सामान्य समस्याहरू आउने रहेछन्, तर त्यस्तो पूरै चर्किएको, काम नै नलाग्ने गरी फाटेको कतै देखिएको छैन । फिलिङ गरेको, पिच गरेको ठाउँ चर्किएको बिग्रिएको भन्ने चाहिँ छैन,’ उनी भन्छन् ।

इलामका स्थानीयलाई जहाज चढेर काठमाडौँ आउजाउ गर्न झापाको भद्रपुर विमानस्थलको भर पर्नुपर्ने बाध्यता छ । पर्यटकीय जिल्लामा विमानस्थलसमेत थपिएपछि पर्यटक आउ–जाउ बढ्ने र आर्थिक स्तर अझ सुध्रिने आशा राखेका व्यवसायी र स्थानीयका सपना लगभग तुहिएको अवस्था छ ।

विमानस्थल निर्माणमै प्राविधिक कमजोरी रहेको स्थानीय गुनासो गर्छन् । विमानस्थल निर्माणमा हालसम्म राज्यको करिब ३० करोड रुपैयाँ लगानी भइसकेको छ । अत्यावश्यक अन्य संरचना त बन्नै पाएनन् । यात्रु प्रतीक्षालय र शौचालय निर्माणमा नगरपालिकाले २ लाख २३ हजार रुपैयाँ खर्च गरेको थियो ।

यता, आगामी चाडपर्वलाई लक्षित गरेर जहाज उडाउने तयारी गरेको बताउँछन्– प्रवक्ता दुलाल । ‘वायुसेवा निगमले चाडबाड सुरु हुनुभन्दा अगाडिदेखि नियमित जहाज उडाउने तयारी भएको नगरपालिकालाई जानकारी गराएको छ । वायु सेवा निगमका अध्यक्षले चाडबाडलाई लक्षित गरेर उडान सुरु गर्छाैं चाहिँ भन्नुभएको हो । तर, कहिलेदेखि, कुन मितिदेखि भनेरचाहिँ खबर आएको छैन,’ उनी भन्छन् ।

विमानस्थल बनेर पनि सञ्चालनमा नआउँदा स्थानीय मात्र नभएर आफूहरूलाई पनि चित्त नबुझेको दुलाल बताउँछन् । इलामको दिगो विकास र सुकिलुम्बामा विमान उढाउनका लागि नगरपालिका लागिपरेको छ । कम्तीमा हप्तामा २ पटक मात्र भए पनि जहाज उडाउन नगर कार्यपालिकाले निर्णय गरेर पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, उड्डयन प्राधिकरण, नेपाल सरकार, मन्त्रीहरूलाई पटक–पटक ध्यानाकर्षण गराएको दुलाल बताउँछन् ।

तारन्तार पहल गर्नबाहेक आफूहरूले केही गर्न नसकेको दुलाल बताउँछन् । ‘स्थानीय सरकारले कराउनबाहेक केही गर्न नसकिने रहेछ । संघीय सरकारलाई इलाम नगरपालिकाले निरन्तर दबाब, ध्यानाकर्षण र खबरदारी गर्न छाडेको छैन,’ उनी भन्छन् ।

अहिले बन्द भएका बेला त्यहाँ रेखदेखका लागि विमानस्थलले २ जना कर्मचारी खटाएको छ भने विमान उड्न थालेपछि नगरपालिकाबाट नगर प्रहरी, दमकल, एम्बुलेन्सलगायत जनप्रतिनिधि आफैँ पनि खट्ने गरेका छन् ।

धावनमार्ग बने पनि विमानस्थलको भवन, प्रतीक्षालय, शौचालय, रेस्ट रुम, सुरक्षा स्थल, सेक्युरिटीलगायत अन्य भौतिक पूर्वाधार निमार्ण गर्न बाँकी नै छ । त्यसका लागि निरन्तर नेपाल सरकारलाई पहल गरिए पनि नियमित उडान सुरु भएपछि पूर्वाधारका लागि पुनः पहल गर्ने नगरपालिकाले जनाएको छ ।

इलाम पर्यटकीय क्षेत्र भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने नगरपालिका बताउँछ । मौसम र सुरक्षाको कारण देखाउँदै एयरलाइन्सहरूले उडान गर्न नमान्दा दैनिक र दिगो रूपमा उडान हुन नसकेको नगरपालिकाले बताउँदै आएको छ ।

राम्ररी जहाज उड्नै नपाई अस्ताए पहलकर्ता नेम्वाङ

इलाम पूर्वसभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गृहनगर र निर्वाचन क्षेत्र हो । नेम्वाङको पुख्र्यौली घर र विमानस्थलको दुरी साढे ५ किलोमिटर छ । इलाममा विमानस्थल निर्माणका लागि २०६७ सालमा पूर्वप्रधानमन्त्री खनाल र नेम्वाङ दुवै जनाले पहल गरेका थिए ।

नेम्वाङको पहलमा विमानस्थल बने पनि दिगो रूपमा इलाम–काठमाडौँ जहाज उडेको हेर्ने सपना देख्दादेख्दै सोमबार राति उनी अस्ताए । गृहजिल्ला इलाम नै भएका पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले निमानस्थलका लागि पहल मात्र गरेनन्, विमानस्थल बनाउन सक्रियता पनि देखाएका थिए । पर्याप्त बजेट नपुग्दा विमानस्थल नबन्ने जस्तो भएपछि पूर्वप्रधानमन्त्री खनाल र नेम्वाङले चन्दा संकलनमा समेत सहयोग गरे ।

नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेपछि खनाल एक्लै गएर पूरा काम नभएकै अवस्थामा उद्घाटन गरेका थिए । एमाले विभाजन भएर नेकपा एस भएपछि खनाल नेम्वाङबिनै हतारमा धावनमार्ग उद्घाटन गर्न इलाम पुगेका थिए ।

नेम्वाङले इलामको विकासका लागि महत्वपूर्ण कदम चालेको दुलाल बताउँछन् । नेम्वाङको कार्यकालमा सुरु गरेका महत्वपूर्ण कामहरूलाई सञ्चालन गर्न नसकेको बताउँदै उनले इलाम र देशले नेम्वाङको महत्व भुल्न नसक्ने बताए । ‘नेम्वाङको पहलमा सुरु भएको यस विमानस्थललाई हामी पूर्ण रूपमा पूरा गरेरै छाड्नेछौँ,’ उनी भन्छन् ।

विमानस्थलका लागि स्थानीयले १ देखि ४२ रोपनीसम्म जग्गा दिएका थिए । ३१ घर–परिवारलाई जग्गाको मुआब्जाका लागि २ करोड २६ लाख रुपैयाँ खर्च भएको थियो । इलाम नगरपालिकाले यात्रुहरूको ग्यारेन्टीका लागि १० लाख रुपैयाँसमेत विनियोजन गरेको थियो ।