‘सरकारको नीति झोला बोकेर विदेश लागिहाल्ने खालको छ’

‘सरकारको नीति झोला बोकेर विदेश लागिहाल्ने खालको छ’

विकास टाइम्स
93
Shares

काठमाडाैँ ।

नेपालकाे अर्थतन्त्र चलायमान बनाउने एउटा क्षेत्र हाे- अटाेमाेबाइल । देशको राजस्वमा २५ प्रतिशत हिस्सा ओगट्ने र १२ लाख जनशक्तिलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा रोजगारी दिने अटोमोबाइल सेक्टर सरकारको प्राथमिकतामा भने नपरेको व्यवसायीहरूको गुनासो छ ।

नाडा अटाेमाेबाइल एसाेसिएसनले गत भदाै २६ देखि ३१ गतेसम्म अटाे शाेकाे आयाेजना गर्‍याे । साेही अटाे शाेकाे पूर्वसन्ध्यामा हामीले कपुरी ब्रदर्सका सञ्चालक प्रकाश कपुरीसँग अटाेमाेबाइल क्षेत्रले भाेगेका समस्या र राज्यकाे दृष्टिकाेणबारे कुरा गरेका छाैँ । उनै कपुरीसँग विकास टाइम्सकर्मी रमेश पाैडेलले गरेकाे कुराकानीकाे सम्पादित अंशः

कपुरी ब्रदर्सको व्यावसायिक यात्रा कसरी सम्झिनुहुन्छ ?

म विगत २५ वर्षदेखि यो अटोमोबाइल फिल्डमा छु । यो फिल्डमा टू ह्विलर र फोर ह्विलरको काम गर्दै आएको छु । म स्पेयर पार्टस् र सर्भिस सेक्टरमा पनि छु । मैले झापाको बिर्तामोडबाट यो व्यवसाय सुरु गरेको हुँ । त्यसपछि इलाम, विराटनगर हुँदै अहिले काठमाडौँमा स्वयम्भू र बालाजुमा केन्द्रित भएर टू ह्विलरको काम गरिरहेको छु । विराटनगरमा मेरो फोर ह्विलरको व्यवसाय छ । म अटोमोबाइल्सको छाता संगठन नाडामा समेत आबद्ध छु ।

कोरोनापछि सबै व्यवसाय प्रभावित देखिन्छन् । यो अटोमोबाइल क्षेत्रको व्यवसायचाहिँ कस्तो चलिरहेको छ ?

पक्कै पनि कोरोनाकालपछि आर्थिकदेखि सामाजिक, मानसिक रूपमा समेत प्रभाव परेको छ । अहिलेको अवस्थामा हामी पनि व्यवसायको हिसाबले समस्यामै छौँ । बैंकका कारण यहाँसम्म आइपुगेका हामी फेरि बैंककै नीतिका कारण व्यापार डामाडोल भएको अवस्था छ ।

संसारमा कुनै पनि व्यवसाय आफ्नै पैसाले गर्छु भनेर सम्भव छैन । सरकारका नीतिहरू झोला बोकेर विदेश लागिहाल्ने खालका छन् । त्यसले नेपाललाई नै घाटा गरिरहेको छ । हामी आशावादी भने पक्कै छौँ कि एक दिन अवश्य राम्रो हुन्छ भनेर । हामीले कतिपय अवस्थामा गोजीको पैसा लगाएर भए पनि व्यवसाय निरन्तर चलाइरहेका छौँ । र, हामीपछिका भाइ, छोराहरूलाई समेत नेपालमै केही गर्नुपर्छ भन्ने सन्देश दिन खोजिरहेका छौँ ।

सरकारकै नीति मात्रै तपाईंहरूको समस्या हो र ?

हामीले कहिल्यै नदेखेको लकडाउन, कोरोना सामना गर्नुपर्‍यो । त्यसले नै प्रभाव पारिरहेको अवस्थामा युक्रेन–रुस युद्धका कारण अझ नयाँ आर्थिक समस्या सिर्जना गर्‍यो । हाम्रो पुस्ताले भने अनेक कुरा देख्यो । हाम्रो पुस्ताले राजदरबार हत्याकाण्ड, गणतन्त्र, कोरोना आर्थिक समस्या सबै भोगेको छ । समस्या जस्तो भए पनि मैले साथीहरूलाई हौसला दिने काम भने गरिरहेको छु ।

अटोमोबाइल संघले गरेको कामलाई कसरी हेर्नुभएको छ ?

मलाई अग्रज कृष्णप्रसाद दुलालले संगठनमा जोड्नुभएको हो । नाडा एउटा बलियो संस्था, अटोमोबाइलको संस्था भन्छौँ हामी । तर, त्यहाँ अपनत्व भने फिल हुँदैन । हुन सक्छ त्यो लेबलमा हाम्रा अग्रजहरूले भूमिका नखेलेको हो कि !

अग्रजहरू हुँदा पनि हामीले उहाँहरूको भिजनअनुसारको काम गरेका छौँ । हाम्रो सक्रियतामा नाडाका प्रदेश कमिटीहरू गठन भएका छन् । त्यसले गर्दा प्रदेश सरकारमा हाम्रा कुराहरू राख्नलाई सजिलो भएको छ । प्रदेश सरकारमा व्यक्तिगत गएर कुरा गर्नु र संस्थागत कुरा गर्नुमा धेरै फरक भएको अवस्था छ ।

देशको अर्थतन्त्रमा यत्रो भूमिका खेलेको, रोजगारीमा समेत ठुलो योगदान पुर्‍याएको क्षेत्र हो– अटोमोबाइल । तर, नाडाको प्रदेश संरचना अहिले पनि कमजोर भएको अवस्था छ । संस्थामा अपनत्व लिने कुरामा, सरकारलाई झकझकाउने कुरामा अझै पनि हामी कमजोर छौँ । हामीले अझै धेरै काम गर्नुपर्ने छ । हामीले सरकारसँग झगडा गर्ने मात्र नभई हातेमालो गर्दै अगाडि बढ्नु जरुरी छ ।

तपाईंलाई नाडाको अध्यक्षका रूपमा पनि चर्चा गरिएको छ । अध्यक्षको तयारीमा लाग्नुभएको हो र ?

मैले हरेक चोटि भन्ने गरेको छु– म नाडाको योग्य व्यक्ति हो । म योग्य छु पनि । तर, यति भन्दै गर्दा हाम्रो अटोमोबाइलका साथीहरूसँग जब एकरूपता आउँदैन, तबसम्म प्रकाश कपुरीले सक्रियता नदेखाउँदा पनि हुन्छ । हाम्रो अटोमोबाइल व्यवसायी साथीहरूकै चाहनाअनुसार मैले नेतृत्व गर्ने कुरामा पछि पर्दिनँ ।

तर, मैले नेतृत्व गर्दै गर्दा मेरो मात्र व्यवसायको प्रवर्द्धन गर्ने भन्दा पनि समग्र अटो व्यवसायी साथीहरूका लागि काम गर्नेछु । मैले नेतृत्व गरेँ भने नाडालाई अटो व्यवसायीले अपनत्व फिल गर्ने अवस्था सिर्जना गर्छु ।