बालसुधार गृहमा झडप एक जनाको मृत्यु, ४ जनाको अवस्था गम्भीर

बालसुधार गृहमा झडप एक जनाको मृत्यु, ४ जनाको अवस्था गम्भीर


बाँके ।

डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहमा झडपमा परी एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेका छन् ।

बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा घाइते भएकाहरुमध्ये केसीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिए ।

घाइते अन्य दश जनाको उपचार जारी छ । ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रमुख सिंहले बताए । घाइतेहरुको भेरी अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । प्रहरीले सुधार गृह तोडफोड गर्ने २५ जनालाई नियन्त्रणमा लिएको छ ।

सुधार गृहमा लागु औषध, डाँकाचोरी, कर्तव्य ज्यान लगायत मुद्दाका २५४ जना छन् । उनीहरु १५ देखि ३० वर्ष उमेर समूहका छन् ।

उक्त सुधार गृहका लागि सिभिलमा १० जना प्रहरीहरुमात्र रहने गरेका छन् । उनीहरुले स्थिति सम्हाल्न नसकेपछि थप प्रहरी तैनाथ गरिएको छ ।

यसअघि प्रहरीले विवाद समाधानको प्रयास गर्न मानव अधिकारकर्मीको टोलीलाई पनि सुधार गृहमा बोलाएको थियो । तर स्थिति सम्हाल्न नसकेपछि उनीहरुले पनि फर्किएका छन् ।

सोही बाल सुधार गृहमा राखिएकाहरु २०७९ साल पुस १४ गते बिहान झ्यालको भेन्टिलेसन तोडेर भागेका थिए । सोही वर्षको माघ अन्तिम साता सुधार गृहमा आगजनीसमेत भएको थियो ।

यसअघि पर्साको वीरगञ्ज र भक्तपुरमा रहेका बाल सुधार गृहमा पनि तोडफोडका कारण स्थिति तनावपूर्ण बनेको थियो । बाँकेबाटै भक्तपुर र भक्तपुरबाट वीरगञ्ज लगिएकाहरुबाटै सुधार गृहमा विवाद र तनाव सिर्जना भएको प्रहरीको भनाइ छ ।