उर्लिँदो भेल घटेसँगै चल्न थाले ‘जेट बोट’, कहाँ–कहाँ चल्छन् ?

उर्लिँदो भेल घटेसँगै चल्न थाले ‘जेट बोट’, कहाँ–कहाँ चल्छन् ?

विकास टाइम्स
237
Shares

काठमाडौँ ।

गत असार १५ देखि बन्द भएको जेट बोट पुनः सञ्चालनमा आएको छ । नेपाल वाटर स्पोर्ट एन्ड पावर बोट एसोसिएसनका अध्यक्ष रमन भट्टराईका अनुसार कर्णाली, नारायणी, बाग्मती, इन्द्रावती र सप्तकोसी नदीमा अढाई महिनापछि जेट बोट पुन सञ्चालनमा ल्याइएको हो ।

बर्खाको बेलामा पानीको बहाव बढ्दा पनीसँगै मुढा, ढुंगाहरू बगाएर ल्याउने भएकाले सुरक्षा खतराका कारण बोट बन्द गर्ने गरिएको बोट सञ्चालकहरूको भनाइ छ । ‘बोट यो वर्ष मात्र बन्द भएर पुनः सञ्चालनमा आएको होइन,’ भट्टराईले विकास टाइम्ससँग भने, ‘बर्सेनि करिब ३ महिना जति बन्द भएर पानीको बहाव कम भएपछि पुनः सञ्चालन हुन्छ ।’

नदीमा पानीको बहाव हेरेर असार १५ देखि २० गतेसम्ममा बोटहरू बन्द हुने र असोज १ देखि ५ गतेसम्ममा नियमित सञ्चालनमा आउने भट्टराईको भनाइ छ । ‘तर, कुनै नदीमा पानीको बहाव कम भएन भने अलि पछिबाट पनि सञ्चालनमा आउन सक्छ,’ उनले भने ।

तर, ताल, पोखरी र रिसोर्टहरूमा सञ्चालनमा रहेका बोट भने बाह्रै महिना सञ्चालन हुने भट्टराई बताउँछन् । देशकै ठुलो नदी सप्तकोसीमा भने भोलिदेखि बोट सञ्चालनमा आउने भएको छ ।

सप्तकोसीमा लामो समयदेखि जेट बोट सञ्चालन गरिरहेको कम्पनी बराहक्षेत्र म्यारिन एन्ड रिसोर्ट प्रालिका सञ्चालक दिनेश पौडेलका अनुसार आज नदीमा बोट ल्याइएको छ । ‘आजबाट सञ्चालन गर्ने भनेका थियौँ, तर सम्भव हुन सकेन,’ पौडेलले भने, ‘अहिले हामीले बोट ल्याउँदै छौँ, भोलिबाट सञ्चालन गर्छौँ ।’

सप्तकोसीमा बराहक्षेत्र म्यारिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि गरी ४ वटा कम्पनीले ४ वटा लामो दुरीका र ४ वटा छोटो दुरीका जेट बोट सञ्चालन गर्दै आएका छन् ।

नारायणी नदीमा भने विगत केही दिन अघिदेखि नै बोट सञ्चालनमा आइसकेको नारायणी वाटर बोट प्रालिका सञ्चालक मदन कर्माचार्यले जानकारी दिए । ‘साथीहरूले केही दिन यतादेखिकै बोट सञ्चालन गरिरहनुभएको छ,’ कर्माचार्यले भने, ‘मैलेचाहिँ केही दिनपछि मात्र सञ्चालनमा ल्याउँछु ।’

कर्माचार्यका अनुसार नारायणीमा १० वटा बोट सञ्चालनमा आइसकेका छन् । ‘हामीसँग १८ वटा बोट छन्,’ उनले भने, ‘तीमध्ये १० वटा सञ्चालनमा आइसकेका छन् ।’

पानीसँगै बग्ने ढुंगा मुख्य समस्या

नदीमा बोट सञ्चालन गर्दा नदीले ठुल्ठुला ढुंगा पनि बगाएर ल्याउने भएका व्यवसायी मारमा पर्ने गरेका छन् । ढुंगाले बोटको पंखा भाँचिने भएकाले व्यवसायमा समस्या भएको अध्यक्ष भट्टराई बताउँछन् ।

‘हाम्रो मुख्य समस्या भनेको ढुंगा र रूखको जरा आएर पंखा बिग्रिने नै हो,’ भट्टराईले भने, ‘पानीभित्र भएकाले त्यो देखिँदैन, हेरेर चलाउन पनि मिल्दैन ।’

भट्टराईको कुरामा म्यारिनका सञ्चालक पौडेल पनि सहमत छन् । ‘सप्तकोसीमा माथिसम्म जाने बाटोमा पनि बोट ठोकिन्छ,’ पौडेलले भने, ‘हिउँदमा पानी कम हुँदा बाटोमा बढी ठोकिन्छ ।’

नेपाल पानी जहाज कार्यालयले कोसी अर्थात् अरुण दोभानमा रहेको अवरोधका कारण माथि जान कठिनाइ भएको भन्दै त्यो अवरोध हटाएको आफ्नो प्रतिवेदनमा भनेको छ । तर, त्यहाँका व्यावसायी भने कार्यालयले हटाएको अवरोधले मात्रै बोट माथिसम्म जान नसक्ने बताउँछन् ।

‘केही काम त भएको छ, तर बोट जान सक्ने गरी भएको छैन,’ पौडेलले भने, ‘थोरै बजेट दिएर अवरोध हटाउन भनिएको थियो, त्यसले केही हुँदैन ।’

नारायणीको भने फरक समस्या छ । भरतपुर महानगरपालिकाबाट निस्किएको ढल नारायणी नदीमा हालिने भएकाले यात्रुहरू आउन छाडेको त्यहाँका व्यवसायीहरू बताउँछन् ।

‘महानगरको सबै ढल नारायणीमा छ,’ कर्माचार्यले भने, ‘ढल गन्हाउने भएका कारण कोही पनि बोट चढ्न मान्दैनन् ।’