७ वर्षपछि पुन: सञ्चालनमा आयो बेगखोलाको पक्की पुल

७ वर्षपछि पुन: सञ्चालनमा आयो बेगखोलाको पक्की पुल


file photo

म्याग्दी ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्की पुल सञ्चालनमा आएको छ।

पुल सञ्चालन आएसँगै खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको छ। ७ वर्षअघि बेगखोलामा आएको बाढीले ‘बेलीब्रिज’ बगाएपछि बर्खायाममा खोलाबाट सवारीसाधन वारपार गर्न समस्या थियो।

बेनी–जोमसोम–कोरला सडक योजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले पुलमा शनिबारदेखि सवारीसाधन सञ्चालन गर्न थालिएको बताए। ‘पुलसम्म पुग्ने २ तर्फको पहुँचमार्ग निर्माणलाई अन्तिम रूप दिन बाँकी भए पनि यातायात सञ्चालन गरिएको छ,’ उनले भने, ‘बेगखोलामा बाढी आएको अवस्थामा यातायात आवतजावत बन्द हुने र जोखिम मोलेर वारपार गर्नुपर्ने समस्या हटेको छ।’

सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माणका लागि २०७८ असार २९ गते बिओकेआईरहिमालयन जेभीसँग भ्याटसहित ८ करोड ३० लाख ६८ लाख ४ सय ७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

एघार मिटर चौडाइ भएको पुल डिजाइन एण्ड बिल्ड (निर्माण व्यवसायीले आफैँ डिजाइन र निर्माण गर्ने) मोडलमा ठेक्का सम्झौता भएको थियो। २०८० चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि लक्ष्यअगावै निर्माण सम्पन्न भएको सडक विभागको पश्चिम सेक्टर कार्यालयका इन्जिनियर आशिक रिजालले बताए।