‘स्थिर नीति हुने हाे भने नेपालमै गाडी उत्पादन गर्छौं’

‘स्थिर नीति हुने हाे भने नेपालमै गाडी उत्पादन गर्छौं’


नेपालमा अटाेमाेबाइल प्रयाेगकर्ताकाे संख्या दिनहुँ बढिरहेकाे छ । समयक्रमसँगै २ पांग्रे र ४ पांग्रे सवारीका उपभाेक्ता उल्लेख्य वृद्धि भइरहँदा नेपालमै भने गाडी उत्पादन हुँदैन । अटाेमाेबाइलसम्बन्धी अतिकम सामग्री उत्पादन भइरहेकाे अवस्थामा ठुलाे धनराशि देशबाहिर गइरहेकाे छ ।

सरकारकाे स्थिर नीति हुने हाे भने नेपालमै गाडी उत्पादन गर्न सकिने बताउँछन् सिप्रदी ट्रेडिङ प्रा.लि. का सिइओ राजनबाबु श्रेष्ठ । उनै श्रेष्ठसँग विकास टाइम्सका लागि रमेश पाैडेलले गरेकाे कुराकानीः

सिप्रदी र तपाईंको सिप्रदीसँगको यात्राबारेमा केही बताइदिनुस् न ।

नेपालमा सिप्रदी सुरु भएको करिब ४० वर्षभन्दा बढी भयो । मचाहिँ विगत २४ वर्षदेखि सिप्रदीसँग छुु । म विभिन्न डिपार्टमा काम गर्दै अहिले कार्यकारी प्रमुख (सिइओ)को भूमिकामा छु ।

हाम्रो जहिले पनि राम्रो प्रोडक्ट दिने नै उद्देश्य हो । हामीसँग कमर्सियल, प्यासेन्जर गाडीहरू, लुब्रिकेन्ट, पार्टस्, ब्याट्रीलगायत छन् । तिनीहरूको छुट्टा–छुट्टै च्यानलहरू छन् । अहिले हाम्रो पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको च्यानलमा हजार जनाभन्दा बढी कर्मचारी छन् ।

तपाईं नाडामा उपाध्यक्षका रूपमा काम गरिरहनुभएको छ । अबको कार्यकालमा तपाईंले नाडाको नेतृत्वमा दाबी गर्ने सम्भावना के हो ?

सबै साथीहरूले यसपालि तपाईं अगाडि बढ्नुपर्छ भनिरहनुभएको छ । त्यसले गर्दा उहाँहरूको सपोर्ट, सुझावले अगाडि बढ्ने भन्ने हो । तयारी भन्दा पनि संस्थालाई सशक्त बनाउने भन्ने हो । निर्वाचनमा गएपछि एउटा प्यानल, अर्को प्यानल हुन्छ । त्यसले हाम्रो एकतालाई समेत असर गर्छ । सहकार्य र सहमतिको तयारी गरिरहेको छु ।

चालु आर्थिक वर्षमा इलेक्ट्रिक गाडीमा सरकारले कर बढाएको छ । त्यसमा नाडाले आवाज उठाउन सकेन भन्ने पनि आरोप छ नि ?

सरकार कुनै एउटा नीतिमा अडिन सकेको छैन । सबै कुरामा सरकारले आफ्नो नीति परिवर्तन गरिरहेको हुन्छ । सरकारले बजेट बनाउँदा कहाँबाट कर आउन सक्छ भन्ने ध्यान हुन्छ ।* नाडाले कुरा नउठाएको भन्ने होइन । बारम्बार कुरा उठाएको छ । इभी भर्खर आउन सुरु भएको थियो । उपभोक्ताले भर्खर विश्वास गर्न थालेकाले यसको मुभमेन्टलाई केही समय छाडिदिएर बिस्तारै कर बढाएको भए हुन्थ्यो ।

हाम्रोमा प्रत्येक वर्षको बजेटमा नीतिहरू परिवर्तन भइरहेको हुन्छ । त्यसरी नीति परिवर्तन हुँदा व्यवसायीलाई कस्तो असर पर्छ ?

हामीले व्यवसाय सुरु गर्दा उपभोक्ता र आफूलाई हेरेर एक किसिमको योजनाका साथमा काम गरेका हुन्छौँ । तर, बीचमा नीतिहरू परिवर्तन हुँदा त्यसले पूरै योजनालाई नै असर गर्ने गर्छ । हामीले जुन खालको अपेक्षा गरेको हुन्छौँ, त्यो किसिमको रिजल्ट आउँदैन ।

नेपालमा अटोमोबाइल्ससम्बन्धी सामग्री एकदमै थोरै मात्रामा उत्पादन हुन्छन् । नेपालमै उत्पादन हुन सक्छ कि सक्दैन ?

नेपालमै उत्पादन हुन सक्छ । हामी सबै त त्यसका लागि तयारी गरिरहेका नै छौँ । हामीले यहीँ उत्पादन गर्दा ठुलो लगानी गरेका हुन्छौँ । सरकारले लगानीको ग्यारेन्टी लिन्छ भने हामी लगानी गर्न तयार छौँ । हामीले विगत ५ वर्ष पहिलेदेखि कुरा गरिरहेको हो।

तर, लगानी सुरक्षित नदेखेर हामीले लगानी नगरेको हो । एउटा नीतिको निरन्तरता कम्तीमा १२ वर्ष हुनुपर्छ । अनि मात्र लगानी गर्न सकिन्छ । सुरुमा पार्टस्हरू अन्य ठाउँबाट ल्याएर नै बनाउने हो । पछि गएर कुन–कुन चिज यहीँ उत्पादन गर्न सकिन्छ, त्यो उत्पादन गर्ने हो । अरू आयात गर्ने हो । जुन वस्तुको मार्केट छ, त्यसको उत्पादन गर्ने हो, जुन चिजको मार्केट छैन त्यसको आयात गर्ने हो ।

सरकारले के गर्‍यो भने अटोमोबाइल व्यवसायीलाई सहज हुन्छ ?

सरकारले सडक पूर्वाधारलाई राम्रो बनायो भने हामीलाई धेरै सहज हुन्छ । अहिले भएको सडक पूर्वधारलाई कसरी छिटो सम्पन्न गर्ने, गुणस्तरीय सडकको पहुँच पुर्‍याउने, बिग्रिएका सडक मर्मत गर्‍यो भने हामीलाई सहज हुन सक्छ । गाडीमा लगाएको कर कम गर्ने, महँगा गाडीहरूमा फाइनान्स र ब्याजदर सहज गर्नुपर्छ ।