२ महिनामा साढे २ खर्बको वस्तु भित्रिँदा २६ अर्बको बाहिरियो 

२ महिनामा साढे २ खर्बको वस्तु भित्रिँदा २६ अर्बको बाहिरियो 


काठमाडौं ।

चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने २६ अर्ब ४४ करोड ७० लाखमा खुम्चिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्यांकअनुसार २ महिनामा मुलुकले कुल २ खर्ब ८६ अर्ब १९ करोडको वैदेशिक व्यापार गर्दा २ खर्ब ३३ अर्ब ३० करोड बराबर घाटा व्यहोरेको छ ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा वस्तुको आयात ५.६ प्रतिशत र निर्यात सात दशमलव ७९ प्रतिशतले घटेको छ । यो अवधिमा समग्र वैदेशिक व्यापारमा ५.३२ प्रतिशतको गिरावट देखिएको हो ।

गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र १ खर्ब ६० अर्ब ७५ करोड बराबरको वस्तु आयात हुँदा १६ अर्ब ७३ करोड बराबरको निर्यात भएको छ । अर्थात् नेपालले यो अवधिमा भारतसँग मात्र १ खर्ब ४४ अर्बको व्यापार घाटा व्यहोरको छ ।

त्यस्तै, चीनबाट ४६ अर्ब ५४ करोड ३२ लाख बराबरको वस्तु आयात हुँदा ५४ करोड ३३ लाख बराबरको मात्रै निर्यात भएको छ ।

गत २ महिना अवधिको चीनसँगको व्यापार घाटा करिब ४६ अर्ब बराबर हो ।नेपालले गर्ने वैदेशिक व्यापारमा नाफा भएको मुलुकमा भने संयुक्त राज्य अमेरिका देखिएको छ । साउन र भदौमा अमेरिकाबाट २ अर्ब २२ करोड बराबरको वस्तु आयात गर्दा ३ अर्ब ३६ करोड बराबरको निर्यात गरेको देखिन्छ । अमेरिकासँगको व्यापार नाफा १ अर्ब १४ करोड बराबर हो ।