कस्तो मेयर ? हर्क कि बालेन जस्तो ?

कस्तो मेयर ? हर्क कि बालेन जस्तो ?


काठमाडौँ ।

अहिलेको समयमा राष्ट्रिय राजनीतिका नेतापछि भनौँ वा उनीहरूभन्दा पनि बढी चर्चा हुने २ पात्र हुन्, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र धरान उप–महानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ।

स्थानीय तहको निर्वाचनताका नै बालेन शाहको चर्चा देशभर चुलिएको थियो भने साम्पाङ विजयी भएपछि मात्र चर्चामा आएका पात्र हुन् ।

दुवै जना अहिले देशभर चर्चाका पात्र छन् । तर, दुवैको चर्चा भने फरक ढंगमा गरिन्छ । उनीहरू दुवै जनाको स्वाभाव पनि विल्कुलै फरक र विपरीत छ । साम्पाङ सामाजिक सञ्जालका माध्यमबाट घन्टैपिच्छेजसो आफ्नो प्रतिक्रिया दिइरहेका हुन्छन् भने बालेन कुनै निश्चित विषयमा आवश्यकताका आधारमा मात्र सामाजिक सञ्जालमा उपस्थित हुन्छन् ।

साम्पाङले आफूलाई जनतासँग भिजेको र जनताकै वरिपरि भेटिने मेयरका रूपमा स्थापित गर्दा मेयर बालेन दुर्लभ जस्तै भएर बसेका छन् । न उनीसँग कसैको पहुँच पुग्छ न कुनै सञ्चारमाध्यमले अहिलेसम्म उनलाई भेट्टाउनै सकेका छन् । समाचार त उनको फेसबुक स्टाटसकै आधारमा बन्छन् ।

स्थानीय तहको निर्वाचनभन्दा पहिले यो अवस्था विल्कुलै विपरीत थियो । बालेन हरेक मिडियामा धाउँथे र आफ्ना भनाइ पनि राख्थे भने साम्पाङसँग कुनै मिडिया नै पुगेका थिएनन् ।

स्थानीय सरकार भनेको जनतासँग भिजेको सरकार हो र स्थानीय तहका जनप्रतिनिधिहरू हरेक मोडमा नगरबासीसँग ठोक्किनैपर्छ । यो बाध्यता पनि हो र आवश्यक पनि छ । संघीयता ल्याउनुको मूल मर्म पनि यही नै हो । यसलाई आत्मसात गरेका जनप्रतिनिधिहरू सफल भएका उदाहरण पनि प्रशस्त छन् ।

दुवै नेतृत्वमा विकासको हुटहुटी छ । त्यसमा कुनै पनि विमति छैन । तर, एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्नै नचाहने । यसलाई अचम्मको संयोग मान्नुपर्छ । आ–आफ्नो बुझाइमा पनि भर पर्न सक्छ । तर, नेतृत्वले भेटेको, बोलेको, सुःख–दुःख सोधेको जनतालाई असाध्यै मनपर्छ र चाहन्छन् पनि । यसलाई कुनै पनि प्यारामिटरले नापेर प्रमाणित गरिरहनुपर्दैन ।

जनताको नजिकको सरकार भनेकै स्थानीय सरकार भएकाले उनीहरूलाई देशको प्रधानमन्त्रीभन्दा पनि आफ्नो पालिकाको जनप्रतिनिधिसँग बढी लगाव हुन्छ । किनकि स्थानीय माटोदेखि आवश्यकता र समस्यासम्म उसैले बढी बुझेको हुन्छ ।

यहाँ विवाद र समस्याका बारेमा बढी चर्चा नगरौँ । समस्या जहाँ पनि हुन्छन् । तर, त्यसको निकास खोज्दै र पन्छाउँदै जान सक्ने क्षमता भएकै कारण आज उनीहरूको चर्चा भइरहेको छ ।

कहिलेकाहीँ बालेन मिडियासँग तर्सिएका पो हुन् कि भन्ने पनि लाग्छ । यो पनि गर्छु, त्यो पनि गर्छु भनेका उनले चुनाव जितेपछि त्यसलाई पूरा गर्नै सकेनन् । अहिले पनि गर्न खोजेका कतिपय काम अलपत्र अवस्थामै छन् । त्यसैले पनि मिडियातिर देखा नपरेको हुन सक्छ ।

तर, कसैले नगरेका र गर्न नसकेका काम पनि उनले गरेर देखाइदिएका छन् । सार्वजनिक जग्गाको दुरुपयोग रोक्ने, फुटपाथ व्यवस्थापन, सामुदायिक विद्यालयको गुणस्तर बढाउने, आफ्नो अधिकारका लागि सिंहदरबारसँग जुध्ने आँट गर्ने जस्ता धेरै काम गरेका छन् । तर पनि मिडियामा आएर एक शब्द बोल्दैनन् ।

हुन त उनको हैसियत पनि त ठुलै छ । सरकारले तोकेको मर्यादाक्रममा प्रतिनिधिसभाका सांसददेखि मुख्यसचिव र प्रधानसेनापति सरहको हैसियत उनले राख्छन् । त्यसैको मान पो राखेका हुन् कि !

भनिन्छ– कुनै कुराको बढी उपलब्धता भयो भने त्यसको मूल्य हुँदैन । त्यही भएर पनि होला बालेनले दुर्लभताको बाटो रोजेको ।

अर्को कुरा के पनि छ भने बढी दुर्लभ हुने वस्तुको मूल्य भलै बढी पर्ला, तर त्यसप्रति कसैको चाहना भने हुँदैन । बालेनले यही मान्यतालाई सन्तुलनमा ल्याउन आवश्यक देखिन्छ ।

उता, साम्पाङ बिहान चिया पसलतिर पनि देखिएकै हुन्छन् भने सडकमा बाइक कुदाएर सबैलाई अभिवादन गर्दै हुइँकिन्छन् पनि । फुर्सदमा सबै गाउँले भेला पारेर काम गरिरेहेका हुन्छन् । उनलाई भेट्न धरानबासीलाई खासै समस्या छैन । माटोमा रम्न चाहने उनी श्रमलाई प्रधान ठान्छन् । उनको मुख्य उद्देश्य नै श्रम संस्कारलाई स्थापित गराउने छ ।

उनी कतै बढी उपलब्ध भए कि ! भन्ने पनि छ । तर, उनको उपलब्धता हुुनु नहुनुले कुनै अर्थ राख्दैन । किनकि उनी आफैँले आफूलाई एउटा अभियानका रूपमा हेर्ने भएकाले उनलाई नेतृत्व बन्नु छैन, अभियानका रूपमा अघि बढ्नु छ । त्यसैले पनि सामाजिक सञ्जालमा उनको रोइलो र त्यो रोइलोमा सहभागिता जनाउनेहरूको अर्को रोइलोले उनलाई खासै असर पारेको पनि देखिँदैन ।

उनी आफैँमा मस्त देखिन्छन् । नेतृत्वमा हुनुपर्ने गुण उनीमा छ । तर, बढी गुलियोले पनि त तितो स्वाद दिन्छ नि ! साम्पाङले आफ्नो अभिव्यक्तिमा थोरै मात्र पनि लगाम लगाउने हो भने ‘मेयर भनेको त साम्पाङ जस्तो हुनुपर्छ’ भनेर उदाहरण दिन पाइन्थ्यो ।

जे भए पनि नेपालको राजनीति र नेतृत्व वर्ग कस्तो हुनुपर्छ भन्ने कुराको उदाहरण यी २ मेयरले दिएका छन् । जनताले कस्तो नेतृत्व चाहेका छन् ? भनेर राजनीतिक दललाई पनि पाठ पढाउन यी २ नेतृत्व एक हदसम्म सफल भएका छन् । यो नै सबैभन्दा ठुलो परिवर्तन हो भन्दा फरक नपर्ला ।

अब हामीलाई चाहिएको र माटो सुहाउँदो नेतृत्व कस्तो हुनुपर्छ भन्ने सवालमा चाहिँ अहिलेको सन्दर्भमा दुवै/दुवैजस्तो नेतृत्वको खाँचो छ । हामीलाई यी दुवै मेयर जस्तो नेतृत्व चाहिएको छ । तर, यथास्थितिमा होइन, परिमार्जित । साम्पाङले पनि आफूलाई बदल्न जरुरी छ भने बालेनले आफ्नो दुर्लभतालाई केही खुकुलो बनाउनैपर्छ ।