म्याद गुर्जिएका सामान बेच्ने पसललाई महानगरले तिरायो ६५ हजार जरिवाना

म्याद गुर्जिएका सामान बेच्ने पसललाई महानगरले तिरायो ६५ हजार जरिवाना


फाइल फोटो

कास्की ।

पोखरामा बजार अनुगमनका क्रममा एक ‘स्टोर्स’मा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि सो ‘स्टोर्स’लाई कारबाही गरिएको छ ।

जिल्ला अनुगमन समिति कास्कीले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर्स’मा अनुगमन गर्दा म्याद गुर्जिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि पाएएपछि ५० हजार जरिवाना गरेको हो ।

सो स्टोर्समा म्याद गुज्रेको १३ लिटर साजन र ८ लिटर हेलो तेल गरी २१ पोका खानेतेलसहित लेवल नलगाएको झिलिङ्गा, किरा परेको २४ किलो ९ सय ग्राम सुपारी र केही कुहेको नरिवल फेला परेको थियो । ती सबै सामग्री अनुगमन समितिले नष्ट गरेको छ ।

स्टोर्समा बिक्रीमा राखिएका अधिकांश सामानमा लेभल नलगाएको, म्याद गुज्रेको ३ बोतल फ्यान्टा, प्रतिकिलो ९७ मा खरिद गरेको चिनी १२० मा बिक्री गरेको र पसलमा मूल्यसूची नटाँसेको भेटिएपछि उपभोक्ता संरक्षण ऐनको दफा ३८ अनुसार सो जरिवाना गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

उनका अनुसार समितिले स्टोर्सका सञ्चालक विवेककुमार गुप्तालाई ३ दिन भित्र कागजपत्र लिएर जिल्ला प्रशासन कार्यालय कास्कीमा हाजिर हुन निर्देशन दिइएको छ । त्यसैगरी समितिले पोखरा–५ प्रस्र्याङमा रहेको केसी स्टोर्सलाई १५ हजार जरिवाना गरेको छ ।

स्टोर्सले नापतौलका यन्त्रसमेत दर्ता नगरेको भन्दै प्रक्रियाको लागि तीन दिनभित्र प्रशासनमा हाजिर हुन सञ्चालक तेजवहादुर केसीलाई निर्देशन दिएको छ । त्यसैगरी अनुगमन समितिले मालेपाटनमा रहेको आदर्श स्टोर्समा लेभल नलगाएको किरा परेको ओखर र कपुर फेला पारेको बताइन्छ ।

पोखराका २ दर्जन खाद्य स्टोर्सको बारेमा प्रशासनमा गुनासो आएपछि समितिले अनुगमन थालेको बताइन्छ । मुख्य चाडपर्व सुरु भएसँगै स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र बनाएको छ ।