ईः लाई समर्थन गर्दै केपी ओलीले भने -‘बाटो खुल्ला राखौँ, तर मान्छे मारेर होइन’

ईः लाई समर्थन गर्दै केपी ओलीले भने -‘बाटो खुल्ला राखौँ, तर मान्छे मारेर होइन’


काठमाडौं ।

सडक व्यापारीको बाँच्न पाउने अधिकारका लागि आन्दोलनरत ईःको आन्दोलनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ऐक्यबद्धता जनाएका छन् ।

आज सोमबारदेखि काठमाडौँमा सुरु भएको एमाले बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहमा बोल्दै ओलीले गरिबको सामान फालेर मात्रै फुटपाथको समस्या समाधान नहुने बताए ।

उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको नाम नलिइ भने, ‘एउटा युवा १२५ घण्टादेखि उभिएको उभियै गरेर सत्याग्रह गरिरहेको छ । एकजना जोसँग यो कुरा सम्बन्धित छ, तिनले तिम्रा नेता खोज्दै वार्ता गर्न जाने आदि भनेको सुनियो ।

मान्छेलाई घमण्डले बिगार्छ । समस्या बल्झाएर कोही सफल हुँदैन । समस्या समाधान गरेर सफल हुन्छ ।

ओलीले विकल्प दिएर फुटपाथ व्यवसायको व्यवस्थापन गर्नुपर्ने बताए । ‘गरीबले बल्लबल्ल किनेर ल्याएको हुन्छ । फ्याँकेर, पोखेर समस्याको समाधान हुँदैन,’ ओलीले भने, ‘शहर सफा राखौँ । बाटो खुल्ला राखौँ, तर मान्छे मारेर होइन । मान्छेलाई पेलेर होइन । मान्छेलाई रुवाएर होइन ।’

विकल्प नहुञ्जेल पुटपाथ व्यापारीलाई बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म फुटपाथमा व्यापार गर्न दिन सकिने उनको भनाइ छ । उनले यस विषयमा सरकारले कुनै चासो नदेखाएको पनि बताए ।

ईः लगायत अभियन्ताहरू विगत ७ दिनदेखि राष्ट्रियसभा गृहअगाडि उभिएर आन्दोलन गरिरहेका छन् । मेयर शाहले आज बिहान आन्दोलनरत पक्षलाई आफैँले वार्ताका लागि बोलाउँदा पनि नआएको बताएका थिए । तर, अभियन्ता ईःले शाह आफैँ आएर आफूहरूलाई वार्तामा नबोलाएको भन्दै प्रतिकार गरेका छन् । आफूहरूलाई वार्तामा बोलाउन नगर प्रहरी पठाएको र प्रहरीले धम्कीको शैलीमा बोलाएको ईःको आरोप छ ।