टिपरको ठक्करबाट लामाको मृत्यु

टिपरको ठक्करबाट लामाको मृत्यु


बनेपा ।

बनेपामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मंगलबार राति ९ बजे बनेपा नगरपालिका–७ धनेश्वर गेट नजिकै टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

बनेपाबाट पनौती जाँदै गरेको बा.८४ प ६९५९ न.को मोटरसाइकललाई विपरीत दिशाबाट आएको बा.४ ख.९९७५ न.को टिपरले ठक्कर दिएको थियो।

ठक्करबाट काभ्रे रोशी गाउँपालका–८ खार्पाचोकका ३९ वर्षीय सिद्धिकुमार लामा घाइते भएका थिए। घाइतेपछि उनलाई उपचारका लागि शिर मेमोरियल अस्पतालमा लगिएको थियो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

थप उपचारका लागि उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो। त्यहाँ बुधबार बिहान सवा ५ बजे मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दियो।

प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएको छ।