चाडपर्व आयो, हराएकाको खबर आएन

चाडपर्व आयो, हराएकाको खबर आएन


धनगढी। राजेश डङ्गौरा फर्केर आउने आशा अब भने परिवारले मारिसके । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि उहाँको कुनै अत्तोपत्तो छैन । राजेश सकुशलै फर्कने प्रतीक्षामा डेढ महिना बिताएको कैलालीको जोशीपुर गाउँपालिका–२, मुड्ढीमा रहेको परिवार अब भने अलबिदा भन्न बाध्य भएको छ । नरेशका ठुलाबुबा भागीरामले भन्नुभयो, “यत्तिका दिन भइसक्यो । न सास पाइयो न लास देखियो । अब भने माया मार्न बाध्य भएका छौँ ।”

राजेशको परिवारले काठमाडौँ, नुवाकोट पुगेर खोजी गरेको थियो तर केही अत्तोपत्तो भएन । असोज १८ गते राजेशको परिवारले उहाँको काजकिरिया सम्पन्न गरेको डङ्गौराले जानकारी दिनुभयो ।

राजेशको जस्तै सोही गाउँका बेपत्ता नरेशकुमार डङ्गौराको परिवारले पनि आफ्नो मान्छे फर्कने आशामा पूर्णविराम लगाएर काजकिरिया गरेको छ । असोज १३ गते कुशको शव बनाएर दाहसंस्कार र असोज २२ गते अन्तिम काजकिरिया (रोटीपानी) गरेको बेपत्ताका दाजु सुरेशकुमार डङ्गौराले जानकारी दिनुभयो । उहाँले बेपत्ताको आसैआसमा दसैँ आएपछि काजकिरिया गर्न बाध्य भएको उल्लेख गर्नुभयो ।

रसुवाको टिमुरेस्थित पावर चाइना कम्पनीमा मजदुरका रूपमा काम गर्न गएका जोशीपुर गाउँपालिकाका नौ जना भोटेकोशी नदीमा आएको बाढीमा हराएका छन् । हराएकामध्ये छ जनाको परिवारले आशा मारेर अन्तिम काजकिरिया गरेका छन् । दसैँ नजिकसम्म पर्खेका उनीहरू केही अत्तोपत्तो नभएपछि दसैँअगाडि आफ्ना प्रियजनहरूको बिदाइ गरेका हुन् । मुड्ढीगाउँका शैलेश चौधरी, राजेश चौधरी, राजकुमार कठरियासहित वडा नम्बर १ बरहरिया गाउँका बेपत्ताका परिवारले पनि काजकिया गरेका छन् । प्रतीक्षामै बिताए दसैँ बिग्रिने भएपछि उनीहरूले माया मारेर काजकिरिया गरेका जनाइएको छ ।

धेरै जसो बेपत्ताका आफन्तले काजकिरिया गरे पनि कतिपय परिवारले अझैसम्म आफ्ना प्रियजनको माया मार्न सकेका छैनन् । मुड्ढीकै दाजुभाइ फत्ते कठरिया र रामप्रसादसहित बुधराम कठरियाका परिवारले काजकिरिया गर्न बाँकी रहेको छ । आफ्नो व्यक्ति जीवितै फर्कने आशामा यत्तिका दिन बिताएका तिनै जनाको परिवारले अन्तिम बिदाइ गर्न सकेका छैनन् ।

बुधराम एक न एक दिन फर्केर आउने आमा फूलपति कठरियाको आशा छ । छोराको पर्खाइमा रहेकी उहाँलाई छोराबिनाको दसैँ खल्लो लागेको छ । बेपत्ताका परिवारमा दसैँको रौनक छैन ।

ठेकेदारसँग न सम्पर्क न राहत

बेपत्ता मजदुरका परिवारले नेपाल सरकारबाट कुनै किसिमको राहत पाउन सकेका छैनन् । स्थानीय सरकारले किरियाखर्च दिने आश्वासन दिए पनि त्यो पनि नपाएको उनीहरूको गुनासो छ ।

सुरेश डङ्गौराले भन्नुभयो, “काजकिरियाका लागि ५० हजार रुपियाँ दिने भन्ने सुनेको छु । हामीले फाराम भरेर दिएका छौँ । किरियाखर्च मिलेको छैन ।” बेपत्ता राजेश डङ्गौराका ठुलबुवा भागीरामले नेपाल सरकारबाट कुनै किसिमको राहत वा सहयोग नपाएको गुनासो गर्नुभयो । बेपत्ताका परिवारले आफ्नो मान्छेले काम गरेबापतको रकम पनि कम्पनीबाट पाउन नसकेको गुनासो गरेका छन् ।

यहाँबाट कामदार लगेको ठेकेदार सम्पर्कमा आउन नचाहेको उनीहरूको भनाइ छ । सिन्धुपाल्चोकको ठेकेदारले एक दिन फोन गरेर बेपत्ताको नागरिकता मागेर त्यसपछि सम्पर्कमा नआएको उनीहरूको गुनासो छ । भागीरामले भन्नुभयो, “कामदारको बिमा गरिएको छ भनेर आवश्यक कागजात मागेको थियो । अहिले त्यो मान्छे सम्पर्कमै छैन । प्रहरीमा नम्बर दिएर पत्ता लगाउनका लागि निवेदन दिएका छौँ ।”