कोसी प्रदेशमा डेंगी संक्रमणबाट १७ जनाको मृत्यु

कोसी प्रदेशमा डेंगी संक्रमणबाट १७ जनाको मृत्यु


सुनसरी ।

डेंगी संक्रमणबाट कोसी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना संक्रमित भएका छन् ।

तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार ४३२ जना संक्रमित भएको कोसी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिए ।

कोसी प्रदेशको १४ जिल्लामै डेंगी फैलिएको छ । उनका अनुसार मोरङमा ४ हजार २४२ जना संक्रमित छन् भने १ जनाको मृत्यु भएको छ । झापामा २ हजार ९६४ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भएको उनको भनाइ छ । उदयपुरमा पनि १ जनाको मृत्यु भएको छ ।

गर्मी र बर्खायाममा डेंगी फैलिने गरेको छ । डेंगीका अधिकांश बिरामी २ महिनाभित्र फेला परेका हुन् । सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापालगायत अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालमा डेंगीका बिरामीको उपचार भइरहेको छ ।

साउनदेखि हालसम्ममा तेह्रथुममा २११, पाँचथरमा ३३८, इलाम ५३५, उदयपुर ८१६, धनकुटामा ४३२, भोजपुरमा ३३१, संखुवासभा ८६७, ओखलढुंगामा ४०, ताप्लेजुङमा ३३ र खोटाङमा ४५, सोलुखम्बुमा २० जना डेंगीका बिरामी फेला परेका छन् ।

डेंगी संक्रमण फैलिएसँगै प्रदेशका सबै पालिकाले डेंगीको लार्भा खोजेर नष्ट गर्ने, औषधि छिट्नेलगायत कामसहित जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । यद्यपि डेंगी संक्रमितको संख्या झन् बढ्दो छ ।

स्वास्थ्यकर्मीका अनुसार तीव्र ज्वरो आउनु डेंगीको लक्षण हो । खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नेजस्ता लक्षण डेंगीका बिरामीमा देखिन्छन् ।