नियमविपरीत पक्की संरचना बनाउँदै लुम्बिनी विकास कोष

नियमविपरीत पक्की संरचना बनाउँदै लुम्बिनी विकास कोष


लुम्बिनी ।

पुरातात्विक महत्व बोकेको लुम्बिनीस्थित मायादेवी मन्दिर र कपिलवस्तुको कुदान क्षेत्रमा लुम्बिनी विकास कोषले अवैध ढंगबाट संरचना निर्माण कार्य अघि बढाएको छ ।

पुरातत्व विभागको अनुमतिबिना नै कोषले त्यहाँ आरसिसी संरचना निर्माण कार्य अघि बढाएको हो ।

बुद्ध जन्मस्थलमा दीप बाल्नका लागि टहरा बनाउने निर्णय भएअनुसार मायादेवी मन्दिर परिसरको पूर्वोत्तर कुनामा आरसिसी संरचनामा दीप प्रज्ज्वलन स्थल र कपिलवस्तुको कुदानमा हाल भएको गेट नजिकै भित्रपट्टि लुम्बिनी विकास कोषले नयाँ गेट निर्माण गरिरहेको छ ।

विकास कोषले मायादेवी मन्दिर नजिकै दीप बाल्न ३६/१८ फिटको टहरा बनाउँदै गर्दा तल आरसिसी संरचनाको बिम बनाउन लागिएकामा केही ‘हेभी’ भएकाले निर्माण रोकिएको लुम्बिनी विकास कोषका प्रोजेक्ट म्यानेजर तथा चिफ इन्जिनियर सरोज भट्टराईले बताए ।

लुम्बिनी विकास कोषको बोर्ड मिटिङले अशोक स्तम्भ नजिकै रहेको दीप प्रज्ज्वलन स्थललाई त्यहाँबाट सार्ने निर्णय गरेको थियो । तर, त्यसो नगरी मनोमानी ढंगले पुरातात्विक स्थल मायादेवी मन्दिर नजिकै आरसिसी संरचना निर्माण प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत छ ।

इन्जिनियर भट्टराईका अनुसार पुरातात्विक क्षेत्रमा कुनै पनि प्रकारका निर्माण गर्नुपूर्व विभागको स्वीकृति लिनु आवश्यक रहेकाले कुदानमा गेट निर्माणका लागि प्रस्तावित नक्सा विभागले स्वीकृत नगरे पनि पुरानै डिजाइनमा निर्माण भइरहँदा थोरै मात्र उचाइ घटाउन निर्देशन गरिएको छ ।’

गेट निर्माण कार्य भक्तपुरको तुलसी कन्स्ट्रक्सन एन्ड कम्पनीले गरिरहेको लुम्बिनी विकास कोषले जनाएको छ । कोषका अनुसार कपिलवस्तुको कुदान परिसरमा काठे फुटपाथ निर्माणसँगै प्याकेज ठेक्कामै सो आरसिसी गेट निर्माण भइरहेको छ ।

प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार पुरातात्विक सम्पदा क्षेत्रमा कुनै पनि प्रकारका खन्ने तथा भौतिक संरचना निर्माण गर्ने कार्य गर्न अनिवार्य रूपमा पुरातत्व विभागसँग अनुमति लिनुपर्ने प्रावधान छ ।तर, लुम्बिनी विकास कोषले यो कानुनी प्रावधानलाई लत्याएको स्थानीयको आरोप छ ।

‘कोषले झारो टार्नका लागि स्वीकृति माग पत्र पुरातत्व विभाग काठमाडौँमा पठाए पनि विभागले पुरातात्विक सम्पदा क्षेत्र भएका कारण त्यहाँ पक्की आरसिसी संरचना निर्माण गर्न भने स्वीकृति दिएको छैन,’ लुम्बिनी बचाउ संघर्ष समिति उपाध्यक्ष हुसेनी लोधले बताए ।

पुरातत्व विभागको स्वीकृति नपाई कोषले मनपरी ढंगबाट पक्की संरचना निर्माण गरेकामा विरोध जनाउँदै प्राचीन तथा पुरातात्विक महत्व बोकेका स्थल वरपर नियम विपरीत जथाभावी गरिने निर्माण कार्यलाई तत्काल रोक्नुपर्ने उपाध्यक्ष लोधले बताए ।उनले भने, ‘बौद्धकालीन इतिहास बोकेको पुरातात्विक क्षेत्रमा कोषको जबरजस्ती हस्तक्षेप मान्य हुने छैन ।’

शाक्यमुनि बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक यसै कुदान क्षेत्रमा आफ्ना माता, पिता, पत्नी छोरा तथा परिवारका अन्य सदस्यलाई भेट गरेका थिए । बुद्धलाई ध्यान गर्न, बस्नका लागि उनका पिता राजा शुद्धोधनले कुदान क्षेत्रमा विहार निर्माण गराएका थिए ।

यसै स्थानमा बुद्धका छोरा राहुल र पत्नी मायादेवी भिक्षु तथा भिक्षुणी बनेका थिए । कुदानलाई राजा शुद्धोधनको न्यायालयको रूपमा समेत हेरिने गरेको बौद्ध धर्म ग्रन्थहरूमा समेत उल्लेख छ ।