फेवातालको ६५ मिटरभित्रका संरचना ६ महिनाभित्र हटाउन सर्वोच्चको आदेश

फेवातालको ६५ मिटरभित्रका संरचना ६ महिनाभित्र हटाउन सर्वोच्चको आदेश


तस्बिरमा पाेखराकाे रमणीय दृश्य ।

काठमाडौं ।

सर्वोच्च अदालतले पोखरा फेवातालको सिमा अतिक्रमण गरी बनाएको पार्क भिलेज वाटर फ्रन्ट प्रालिको होटल तथा भवन भत्काउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

फेवाताल संरक्षण सम्बन्धी परेका दुई मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले पार्क भिलेजलाई संरचना बनाउन दिने तत्कालीन सराङकोट गाविस र पोखरा उपत्यका नगर विकास समितिको सिफारिस समेत बदर गरेको हो ।

उक्त होटलले सार्वजनिक जग्गा प्रयोग गरिरहेको अनि संरचना समेत कानून बमोजिम बनेको नदेखिएको भन्दै सर्वोच्च अदालतले त्यसको सबै भाग हटाउन आदेश दिएको हो ।

सर्वोच्च अदालतको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘फेवाताल प्राकृतिक, जैविक विविधता, वातावरण तथा पारिस्थितिक प्रणालीका रुपमा संवेदनशिल र रमणीय सौन्दर्यले भरिपूर्ण सार्वजनिक महत्वको संरक्षित सम्पदाहरूलाई अन्य निजी तथा व्यवसायीक लाभका लागि निजी सम्पत्ति सरह प्रयोग गर्नु सार्वजनिक विश्वास तथा हित विपरीत हुन जाने देखिन्छ ।’

सर्वोच्च अदालतले व्यक्ति र संस्थाका नाममा दर्ता भएका जग्गा र संरचना हटाउन आदेश दिएको छ । सर्वोच्च अदालतले फेवातालको पानीको सतहबाट ६५ मिटर वरपर कुनै संरचना बनाउन नदिनु भनी आदेश दिएको छ । यसअघि पोखरा महानगरपालिकाले ६५ मिटरको सीमा घटाएर ३० मिटरमात्रै बनाएको थियो ।

सर्वोच्च अदालतले फेवातालको सिमाभित्र कुनै व्यापार व्यवसाय गर्ने अनुमती दिएको भए त्यसलाई रद्द गर्न आदेश दिएको छ ।