के छ ईः र महानगरबीच भएको सहमतिमा ?

के छ ईः र महानगरबीच भएको सहमतिमा ?


काठमाडौं ।

१९९ घन्टादेखि उभिएर फुटपाथ व्यवसायीको हक र अधिकारका लागि धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच ४ बुँदे सहमति भएको छ ।

बुधबार साँझ भएको ४ बुँदे सहमतिसँगै ईःले आन्दोलनका कार्यक्रमहरू स्थगित भएको घोषणा गरेका छन् ।

महानगरपालिकाको कार्यालय र राष्ट्रिय सभागृह अगाडि उभिएका अभियन्ता ‘ईः’ र महानगरपालिकाबीच भएको सहमतिअनुसार अब फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरू महानगरले सम्बन्धित धनीलाई फिर्ता दिनेछ ।

यस्तै महानगरले अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ। समितिमा महानगरपालिकाका तर्फबाट ३ जना, अभियन्ताका तर्फबाट २ जना प्रतिनिधि र भौतिक तथा यातायात मन्त्रालयबाट १ जना प्रतिनिधि रहने उल्लेख गरिएको छ ।

समितिले २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्नुपर्ने छ । यसैगरी फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थानबाहेक उपयुक्त स्थानको पहिचान गर्न महानगरपालिकाले १ हप्ताभित्र पहल गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।

यस्ताे छ सहमति

१. फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गर्ने विषयलाई सम्बोधन गर्न १९९ घन्टादेखि राष्ट्रिय सभागृहको मूल गेटमा निरन्तर उभिएर प्रदर्शन गरिरहनुभएका अभियानकर्ता ई: र सहभागी साथीहरूको स्वास्थ्यलाभको कामना गर्दै सो प्रदर्शन आजैबाट स्थगित गर्ने।

२. फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरू महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने।

३. अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझावसहित अध्ययन गरी २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्न देहाय बमोजिमको समिति गठन गर्नेः

क. महानगरपालिकाले तोकेका ३ जना

ख. अभियानकर्ता ई: को तर्फबाट तोकिएका प्रतिनिधि २ जना

ग. भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि १ जना

घ. सहरी विकास मन्त्रालयको प्रतिनिधि १ जना

ङ. ट्राफिक प्रहरीको प्रतिनिधि १ जना

४.साविकमा फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरू पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्नेछ।