राष्ट्रिय बीमा संस्थानले डेढ अर्बको आइपिओ ल्याउने, विशेष साधारणसभा डाक्यो

राष्ट्रिय बीमा संस्थानले डेढ अर्बको आइपिओ ल्याउने, विशेष साधारणसभा डाक्यो


काठमाडौं ।

राष्ट्रिय बीमा संस्थानले डेढ अर्ब रुपैयाँ बराबरको आइपिओ ल्याउने भएको छ।

नियामक नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउने योजनाअन्तर्गत संस्थानले १ अर्ब ५० करोड रुपैयाँको आइपिओ ल्याउने तयारी गरेको हो।

संस्थानलाई कम्पनी लिमिटेडमा परिणत गर्न लागेको छ। यसका लागि संस्थानले आज भदौ १५ गते विशेष साधारणसभा पनि डाकेको छ।

कम्पनीमा परिणत भएपछि आइपिओ निष्कासन गर्ने तयारीमा संस्थान रहेको छ। आइपिओ बिक्रीपछि संस्थानमा संस्थापक समूहको ७० र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहनेछ।

बीमा प्राधिकरणले तोकेबमोजिम संस्थानले ५ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ। हाल संस्थानको पुँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ। आइपिओ बिक्रीपछि पनि प्राधिकरणले तोकेको चुक्तापुँजी कायम गर्न संस्थानले ३ अर्ब ३१ करोड ८९ लाख ८० हजार रुपैयाँ जुटाउनुपर्ने देखिन्छ। यसका लागि संस्थापक सेयरधनीले बाँकी रकम जुटाउनुपर्नेछ।

हाल संस्थानको संस्थापक सेयरधनीमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल बैंक छन्।

हालै बीमा प्राधिकरणले ४ वटा जीवन र ४ वटा निर्जीवन गरी ८ वटा बीमा कम्पनीलाई तोकिएको चुक्तापुँजी कायम गर्न हकप्रद सेयर निष्कासन गर्न दिने निर्णय गरेको छ।