यसरी सुगम बन्दै छ लुम्बिनीको ‘कर्णाली’

यसरी सुगम बन्दै छ लुम्बिनीको ‘कर्णाली’

प्रदेश सरकारकाे १ अर्ब रुपैयाँमा धमाधम बन्दै छन् पुल


लुम्बिनी ।

विकासका पूर्वाधारबाट पछि परेको रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा ६ वटा नयाँ पुल निर्माण हुने भएका छन् । दानव खोला, तिनाउ खोला, खडवा नाला र तेलियागढ नहरमा पुल निर्माणका लागि आ.व.२०८०/०८१ मा १४ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोे सडक पूर्वाधार विकास कार्यालयले जनााएको छ ।

सडक पूर्वाधार विकास कार्यालय पुल विभाग मणिग्राम रूपन्देहीका इन्जिनियर गोविन्द खड्काले मर्चवार क्षेत्रमा आ.व. २०८०/०८१ मा ६ वटा पक्की पुल निर्माण गर्ने योजनासहित बजेट विनियोजना गरिएको जानकारी दिए । उनले दानव खोला, तिनाउ खोला, खडवा नाला र तेलियागढ नहरमा नयाँ पुल निर्माण हुने बताए ।

बेलबास–बेथरी–खैरा (मर्चवार) सडक मार्गको तिनाउ खोला र भुँवरी हुँदै भैरहवा–लुम्बिनी सडक सम्पर्क मार्गका लागि कोडहीमाई–५ दुईमुहान घाटस्थित तिनाउ खोलामा पक्की पुलको निर्माण २०८१ असारसम्म पूरा हुँदै छ भने मायादेवी–५ गोनहा–बसहवा तिनाउ खोला पुलको टेन्डर भई केही दिनमा निर्माण सुरु हुने इन्जिनियर खड्काले बताए ।

रुपन्देही जिल्लाकोे दुर्गम क्षेत्रका रूपमा चिनिने मर्चवारको दानव र तिनाउलगायत खोलामा पुल नहुँदा वर्षातको समयमा आवत–जावतमा कठिनाइ हुने गरेको सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीको भनाइ छ । पुल नहुँदा वर्षातका बेला मर्चवारबासीले जोखिमपूर्ण यात्रा गरिरहनुपरेको उनले बताए ।

कोटहीमाई गाउँपालिका–२ बासीको पीडा कसैसित लुकेको छैन । ३ तर्फबाट दानव र तिनाउ नदीले घेरेको सो वडाका अधिकांश गाउँको व्यवस्थापकीय हाल कहालीलाग्दो छ । अध्यक्ष कुर्मीले भने, ‘गाउँपालिकाको कार्यालय वा नजिकको बजार मझगावा पुग्न जोखिम मोलेर डुंगा चढ्नुको विकल्प छैन ।’ पुल बनेपछि सबै सहज हुने उनले बताए ।

सडक सञ्जाल र पक्की पुलको विकासले मर्चवार मात्र नभई समग्र जिल्लाको विकासमा टेवा मिल्ने सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोदकुमार श्रीवास्तवले बताए ।

उनले भने, ‘अब मर्चवार क्षेत्रका ठुला र साना खोला–नालामा पक्की पुल बन्न थालेका छन् । बन्दै गरेका पुलले मर्चवारको यातायात क्षेत्रमा देखिएको सास्ती हट्ने निश्चित छ ।’

गाउँपालिका अध्यक्ष श्रीवास्तवका अनुसार सडक र पुलको पहुँचले मर्चवारको आर्थिक तथा सामाजिक विकाससँगै यातायात व्यवसायी र पर्यटक समेतलाई बाटो सहज हुनेछ । पुलको विकासले उत्पादित सामग्रीको बजारीकरणसँगै स्थानीयबासीको शिक्षा, स्वास्थ्य र रोजगारलगायत पर्यटन प्रवर्द्धन जस्ता महत्वपूर्ण पक्षमा सहयोग पुग्ने उनको भनाइ छ ।

उनले भने, ‘यसअघि मर्चवार क्षेत्रका ३ गाउँपालिका सम्मरीमाई, मर्चवारी र कोटहीमाइबासीलाई बुद्ध जन्मस्थल लुम्बिनी तथा जिल्ला सदरमुकाम भैरहवाका लागि सहज पहुँच थिएन ।’

पुल निर्माणका लागि विशेष भूमिका खेलेर सम्पर्क सहज बनाउन लागेको भन्दै श्रीवास्तवले लुम्बिनी प्रदेश सरकार तथा प्रदेश सांंसद बसिउद्दिन खाँको प्रशंसा गरे ।

लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेश सांसद खाँले तिनाउमा ३, दानव खोलामा १, खडवा नालामा १ र तेलियागढ नहरमा १ गरी ६ वटा नयाँ पुल निर्माण गर्ने योजनासहित बजेट बिनियोजन गरिएको बताए । उनले प्रदेश सरकारले ६ तथा संघीय सरकारले एउटा पुल निर्माणका लागि बजेट विनियोजन गरेको जानकारी दिए ।

पूर्वमन्त्री खाँले बेलबास–बेथरी–खैरा सडकमार्गको तिनाउ खोलामा निर्माणधीन पुलबाहेक प्रदेश सरकारको लगानीमा अन्य पुल निर्माणका लागि झन्डै १ अर्ब रुपैयाँ बजेट अनुमान गरिएको बताए ।

उनले भने, ‘यसबाहेक खुरहुरिया नालामा पुल निर्माणका लागि डिपिआर तथा दानव खोलाको चक्कियाघाटमा पुल निर्माणको सर्भे भइसकेको छ ।’

‘यसअघि मर्चवारका ३ गाँउपालिकालाई लुम्बिनीसँग जोड्न बनेको एउटा मात्र पुलले समास्या ज्यूँका त्यूँ थियो,’ उनले भने, ‘सम्मरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृतिक नगरपालिका–२ लम्तिहवा जोड्न अत्यावश्क पुल निर्माणको प्रयास छ, यति कार्य भयो भने रुपन्देहीको कर्णाली भनेर चिनिने मर्चवारको मुहार फेरिने छ ।’

‘सडक सञ्जालको पूर्ण विकास गरी गाउँ–गाउँमा कृषि उत्पादन, पशुपालन र पर्यटकीय चहलपहल बढाउने र गाउँका ताजा उत्पादन सहरसम्म पुर्‍याउने हाम्रो लक्ष्य हो,’ पूर्वमन्त्री खाँले भने, ‘अन्नको भण्डार भनेर चिनिने मर्चवार क्षेत्रलाई अर्थिक रूपले समृद्ध र सहज बनाउने उद्देश्यका साथ अब बाह्रै महिना यातायात अवरुद्ध हुन नदिन हामी लागिपरेका छौँ ।’

लुम्बिनी प्रदेश सरकारबाट बेलबास–बेथरी–खैरा सडकको तिनाउ खोलामा निर्माणाधीन पुलका लागि ४ करोड, दुईमुहान घाटस्थित तिनाउ खोलामा निर्माणाधीन पुलका लागि ४ करोड, मायादेवी–५ गोनहा–बसहवास्थित तिनाउ खोलामा पुल निर्माणका लागि ३ करोड ५० लाख, पकडी–पडरहवा दानव नदीमा पुल निर्माणका लागि २ करोड ५० लाख बजेट विनियोजित छ ।

त्यसैगरी कोटहीमाई–५, तेलियागढ चोक नहरमा कलभर्ट पुल निर्माणका लागि ५० लाख, मायादेवी–३ हरनामपुर खडवा नालामा पक्की पुल डिपिआरका लागि ३० लाख, तथा संघीय सरकारबाट दानव नदी पुल (मर्चवार–लुम्बिनी सम्पर्क सडक अमहवाघाट) डिपिआरका लागि ३७ लाख ६० हजार रुपैयाँ विनियोजन भएको आ.व.२०८०/०८१ को रातो किताबमा उल्लेख छ ।