श्रमदान गरेर बाटो त खनियो तर भएन कालोपत्र

श्रमदान गरेर बाटो त खनियो तर भएन कालोपत्र


बागलुङ ।

बागलुङको ताराखोला गाउँपालिकाको काठेखोलाको रिजाचोकबाट ताराखोला जोड्ने मुख्य सडकका रूपमा रहेको सहिदमार्ग स्तरोन्नति हुन नसक्दा सास्ती बढेको छ ।

श्रमदानमार्फत खनिएको उक्त सडक कालोपत्र नहुँदा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ ।

संघीय सरकारले बजेट व्यवस्थापन गर्न नसक्दा अहिले मुख्य सडकका रूपमा रहेको सहिदमार्गको काम हुन नसकेको हो ।

ताराखोला गाउँपालिकाको शाखा सडकका रूपमा रहेको त्रिशूलचोक हुँदै माझखर्क सडक कालोपत्र भइसक्दा पनि गाउँपालिकाको मुख्य सडक भने स्तरोन्नति हुन सकेको छैन ।

गाउँपालिकाको मध्यभागलाई समेटिएको सहिदमार्गलाई गाउँपालिकाको मुख्य सडकका रूपमा लिइएको छ ।

शाखा त्रिशूलचोकबाट माझखर्क र हटिया हुँदै गाईघाट झरनातर्फ सडक कालोपत्र हुन लाग्दा पनि मुख्य सडक कालोपत्र हुन सकेको छैन ।

सडक कालोपत्र गर्ने गरी संघीय सरकार तथा एसियाली विकास बैंकले पटक–पटक सडकको सर्भे गरे पनि कालोपत्र भने गर्न सकिएको छैन ।

ताराखोलाको त्रिशूलचोकबाट माझखर्क गाउँसम्म सडक कालोपत्र गरिएको छ । तर रिजालचोकबाट ताराखोला गाउँसम्म झण्डै ३० किलोमिटर सडक निर्माण नहुँदा यात्रुलाई समस्या भएको छ ।

ताराखोला–सरपाण्डी–खरीखोला सडक कालोपत्र भए पनि ताराखोला गाउँपालिकालाई समेटिएको मुख्य सडक कालोपत्रका लागि आवश्यक पहलकदमी भइरहेको गाउँपालिकाका अध्यक्ष हिमाल विकले बताए । संघीय सरकार र एसियाली विसका बैंकमार्फत सडक कालोपत्र गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

“गण्डकी प्रदेश सरकारको २२ करोड लागतमा सडक कालोपत्र गरिँदै छ”, अध्यक्ष विकले भने, “अब गलकोटबाट ताराखोलातर्फ समेत कालोपत्र गर्न थालिएको छ ।” हटिया–ताराखोला, सरपाण्डी ताराखोला र सहिदमार्गका ३ सडकले ताराखोलाको विकासको ढोका खोलेका छन् । सहिदमार्ग लामो र ठूलो सडक भएकाले करोडौँ बजेट लाग्ने भएकाले सडक कालोपत्रमा जान केही ढिलाइ भएको हो ।

गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेको रिजालचोकबाट भात खाने डाँडा हुँदै रुम फेद पुग्ने २६ किमी सडकलाई गाउँपालिकाले सहिद मार्गको नामकरण गरेको हो । उक्त सडकको भने काम अघि बढ्न सकेको छैन ।

गाउँपालिकाले ठाउँ–ठाउँमा स्तरोन्नतिको काम गरे पनि बर्खामा सडक हिलाम्मे हुँदा सवारीसाधन फस्ने गरेको यात्रुको गुनासो छ । ताराखोला सरपाण्डी खरीखोला सडकको छ किमी सडक कालोपत्र भइसकेको छ । गलकोट हुँदै गाईघाट झरनासम्मको सकडसमेत कालोपत्र गर्ने क्रममा छ ।