फालेलुङमा घरभाडामा लिई प्रहरी चौकी स्थापना

फालेलुङमा घरभाडामा लिई प्रहरी चौकी स्थापना


पाँचथर ।

पाँचथरको फालेलुङ गाउँपालिकास्थित थकेपुङमा प्रहरी चौकी स्थापना गरिएको छ ।

प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १५ जनाको दरबन्दी रहने गरी चौकी स्थापना गरिएको हो । हाल ६ प्रहरी मात्र कार्यरत छन् ।

मन्त्रिपरिषद्को २०७६ असोज ७ गतेको बैठकले उक्त स्थानमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको हो ।

सोही निर्णयबमोजिम बुधबार प्रहरी चौकी उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

फालेलुङ गाउँपालिकाको केन्द्र रहेको सो स्थानमा यसअघि प्रहरी चौकी थिएन । गाउँपालिकाको सेवा केन्द्रमा सुरक्षाको प्रबन्ध नहुँदा नजिकै रहेको इलाका प्रहरी कार्यालय मेमेङले यहाँ सुरक्षा प्रदान गर्दैआएको थियो । यहाँ घरभाडामा लिई प्रहरी चौकी स्थापना गरिएको हो ।

फालेलुङ गाउँपालिका स्थापना हुँदा यसको केन्द्र गाउँपालिकाको–३ मच्छेबुङ तोकिएको थियो ।

यहाँ जनप्रतिनिधि निर्वाचित भएपछि गाउँपालिकाको केन्द्र सोही वडाको थोक्लिम्बामा सारिएको थियो । पछि गाउँपालिकाले गाउँपालिकाको केन्द्र रहेको स्थानको नाम थोक्लिम्बालाई थकेपुङ कायम गरेको छ ।

जिल्लाका ८ स्थानीय तहमध्ये फालेलुङ र हिलिहाङ गाउँपालिकाको सेवा केन्द्रमा प्रहरी चौकी थिएन । हिलिहाङको सेवा केन्द्र पञ्चमीमा इलाका प्रहरी कार्यालय अमरपुरले सुरक्षा प्रदान गर्दै आएको छ ।