साना तथा मझौला व्यवसायी महासंघले महिला उद्यमी मेला आयोजना गर्ने

साना तथा मझौला व्यवसायी महासंघले महिला उद्यमी मेला आयोजना गर्ने


काठमाडौं ।

साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमी मेला आयोजना गर्ने भएको छ ।

शुक्रबार महासंघले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुर पुल्चोकस्थित याक प्यालेसमा महिला उद्यमी मेला–२०८० गर्ने जानकारी दिएको हो ।

महासंघले महिलाहरूले उत्पादन गरेका सामग्री प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले महिला उद्यमी मेला गर्न लागेको बताएको छ ।

पत्रकार सम्मेलनमा महासंघका महासचिव कुमार भुजेलले एक घर एक व्यवसायप्रति प्रतिबद्ध साना तथा मझौला व्यवसायीहरूलाई एकीकृत रूपले एकताबद्ध गराउने उद्देश्य रहेको बताए ।

उनले साना तथा मझौला उद्यमीहरूको मुलुकभर सञ्जाल विस्तार गरी उद्यमशीलता र बहुआयामिक उत्पादनहरूको विकास र प्रवर्द्धनका निम्ति सहजीकरण गर्ने उद्देश्यले ५ दिने महिला उद्यमी मेला आयोजना गर्न लागिएको बताए ।

उनले मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका हस्तनिर्मित सामानहरू हस्तकला, लत्ताकपडा, कस्मेटिक सामग्री, दैनिक उपभोग्य सामान, खाद्यान्न सामग्री, नर्सरी तथा फलफूल, कृषिजन्य उत्पादन, काष्ठजन्य घर सजावटका सामग्री, विभिन्न आर्टहरू प्रदर्शनीमा राखिने बताए ।

प्रदर्शनीमा ७० वटा स्टल राखिने बताउँदै उनले महिला उद्यमी मेलामा १० हजारले अवलोकन गर्ने अपेक्षा रहेको जनाए । मेलामा ५० लाखसम्म कारोबार हुने अपेक्षा पनि आयोजकको छ ।

त्यस्तै महासंघकी सहअध्यक्ष इन्दु पौडेलले महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन र महिला उद्यमीहरूको विकास संरक्षण गर्नका लागि मेलाको आयोजना गर्न लागेको बताइन् । उनले बजारीकरणको राम्रो व्यवस्था नहुँदा नेपाली महिला उद्यमीद्वारा उत्पादित वस्तुले बजार पाउन नसकेको गुनासो गरिन् ।

उनले सरकारले महिला उद्यमीहरूको विकास र प्रवर्द्धन गर्न आवश्यक रहेको बताउँदै मुलुक संघीयतामा गएसँगै प्रदेश सरकारले प्रत्येक प्रदेशमा १र१ वटा महिला उद्यमीहरूद्वारा उत्पादित वस्तु बिक्री केन्द्र बनाउनुपर्ने धारणा राखिन् ।

महासंघले महिला उद्यमी मेलामा राष्ट्रिय कलाकारहरूबाट विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमसमेत हुने जनाएको छ । मेलामा महिला उद्यमीहरुले स्टल राख्न उत्साहित देखिएको भन्दै ७० वटै स्टल बुक भइसकेको महासंघले जनाएको छ ।