अटो ऋणलाई सहज बनाउन नाडाकाे माग

अटो ऋणलाई सहज बनाउन नाडाकाे माग


काठमाडाैँ ।

नाडा अटो मोबाइल्स एसाेसिएसनले अर्थमन्त्री प्रकाशसरण महतसँग अटो बजार चलायमान बनाउन सहजीकरण गर्न माग गरेकाे छ ।

नाडाका अध्यक्ष डा. ध्रुव थापा नेतृत्वको प्रतिनिधिमण्डलले अटो ऋणलाई सहज बनाउन सहयोग माग गरेको हो । नाडाले सुस्ताएको बजार चलायमान बनाउन ऋण पुनर्तालिकीकरको व्यवस्था हुनुपर्ने, बैंक तथा वित्तीय निकायलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्न प्रमुख बाधक हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाएर ७५ प्रतिशत कायम गर्न सहजीकरणका लागि आग्रह गरेकाे छ ।

त्यस्तै बैंकहरूबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको ५० प्रतिशतको सीमालाई बढाएर ७५ प्रतिशत कायम गर्न पनि अनुरोध गरेकाे छ ।

चालु पुँजी कर्जाबारे नेपाल राष्ट्र बैंकले जारी गरेको कर्जा वर्गीकरणसम्बन्धी नयाँ व्यवस्थामा कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भए समूहमा रहेका अन्य ऋणीको समेत निष्क्रिय वर्गमा कर्जा वर्गीकरण गरिनुपर्ने व्यवस्थाले बैंक तथा वित्तीय निकायमा असल कर्जावालालाई समेत असर पर्न जाने नाडाले बताएकाे छ ।

उनीहरूले कुनै पनि कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भएमा कर्जाको बक्यौता रकम भुक्तानी गरे पछि पनि ६ महिनासम्म असल कर्जाको वर्गमा स्तरोन्नति नहुने व्यवस्थाले निजी क्षेत्रलाई हतोत्साहित बनाउने भएकाले यस व्यवस्थालाई पनि तत्काल सच्याउन आग्रह गरेका छन्।

अध्यक्ष थापाले अटोमोबाइल उद्योगहरू पनि क्रमशः खुल्दै जाने क्रममा रहेको सन्दर्भमा यस्ता उद्योगहरूको स्थापनाका लागि थप प्रोत्साहन गर्न सरकारले अटोमोबाइल उद्योगहरूलाई विशेष क्षेत्रमा वर्गीकरण गरी त्यहीअनुरुप सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था हुनुपर्ने बताए ।

काठमाडौँ उपत्यकामा एउटा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माणका लागि बजेटमा व्यवस्था गरी त्यसको निर्माणका लागि समेत पहल गरिदिन उनले आग्रह गरे ।

नाडाका अध्यक्ष थापाले सदैव समस्याका रूपमा देखा पर्दै आएको सन्दर्भ मूल्य सूचीका सन्दर्भमा तत्काल सरोकारवाला निकायहरूसँग आवश्यक सल्लाह गरी ययार्थपरक मूल्य कायम गर्न अनुरोध गरे ।

जबाफमा मन्त्री महतले समस्याबारे आफू जानकार रहेको र त्यसको समाधानका लागि प्रयास गरिने आश्वासन दिए ।