माथिल्लो मैलुङ खोलाको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

माथिल्लो मैलुङ खोलाको आइपिओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं ।

माथिल्लो मैलुङ खोलाको आइपिओमा आवेदन दिने आइतबार अन्तिम दिन हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आइतबार कार्यालय समयभित्र यस कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले साउन ४ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आइपिओ बिक्री खुला गरेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो ।

यसले १ सयअंकित मूल्यमा १० लाख कित्ता सेयर स्थानीयलाई जारी गरेको हो । योमध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–१ का बासिन्दालाई छुट्याइएको छ ।

त्यस्तै, २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–२, ३, ४ र ५ तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका अन्तर्गतका वडा नं. ५ का स्थानीयका लागि निष्कासन खुला भएको छ । यी क्षेत्र बाहेक रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाका लागि पनि १ लाख ४२ हजार ८५० कित्ता सेयर जारी गरिएको छ ।

यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिंग संस्था केयर रेटिंग नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘केयर एनपी डबल बी इस्यूअर रेटिंग’ प्रदान गरेको छ ।

स्थानीयले यस आयोजनाको आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक र एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।