इटहरी नगरमा ३ पांग्रे सवारी चलाउन नपाइने

इटहरी नगरमा ३ पांग्रे सवारी चलाउन नपाइने


सुनसरी ।

इटहरी उपमहानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा ३ पांग्रे इ–रिक्सा चलाउन नदिने भएको छ ।

इटहरीमा सिटी सफारीका कारण दुर्घटना बढेको भन्दै मुख्य राजमार्गमा आइतबारदेखि ३ पांग्रे इ–रिक्सा चलाउन रोक लगाइएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताए ।

इटहरी उपमहानगरपालिकामा दर्ता भएका सफारीमात्र उपमहानगरपालिकाभित्र चलाउन दिने पनि निर्णय भएको उनले जानकारी दिए ।

बाटोमा जाम गरेको र दुर्घटना बढाएको भन्दै इटहरीका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय गरिएको उपमहानगर प्रमुख पौडेलले जानकारी दिए।

इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सञ्चालकका नेतृत्वबीच सहमति गरेर यस्तो निर्णय भएको उनले बताए ।

अबदेखि सिटी सफारी मुख्य सडकमा यात्रुलाई कुरेर बस्न र जथाभावी यात्रु चढाउन तथा ओराल्न रोक लगाइएको उनले बताए ।

इटहरीको मुख्य चोक र राजमार्ग क्षेत्रमा अन्य सवारीसाधन गुड्न पनि असहज भएकामा सफारीले थप असहज पारेको भन्दै सफारीलाई मुख्य सडकमा निषेध गरिएको ट्राफिक प्रहरी कार्यालय कोशी प्रदेशका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए ।