उद्योगमन्त्रीद्वारा सेवा चुस्त दुरुस्त राख्न मातहतका कर्मचारीहरूलाई निर्देशन

उद्योगमन्त्रीद्वारा सेवा चुस्त दुरुस्त राख्न मातहतका कर्मचारीहरूलाई निर्देशन


काठमाडौं ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सेवा चुस्त दुरुस्त राख्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

शनिबार भैरहवास्थित एकीकृत भन्सार जाँच केन्द्र (आइसिपी) को अनुगमन तथा निरीक्षण गर्ने क्रममा मन्त्री रिजालले कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

अनुगमन तथा निरीक्षणमा मन्त्री रिजालसँगै उद्योग सचिव मुकुन्द निरौलाको पनि उपस्थिति थियो भने एकीकृत भन्सार जाँच केन्द्र (आइसिपी) का कार्यकारी निर्देशक आशिष गजुरेलले मन्त्री रिजाललाई आइसिपीको स्थलगत जानकारी गराएका थिए ।

मन्त्री रिजालले आवश्यक सुधार तथा व्यवस्थापनमा जोड दिन आग्रह गर्दै नीतिगत समस्या समाधान गर्न केही समय लाग्ने भए पनि अन्य समस्या भए त्यसको समाधानका लागि तत्काल निर्णय गर्न आफू तयार रहेको बताए । त्यसैगरी देशलाई समृद्धितर्फ लैजाने गरी उपलब्धिमूलक काम गर्न हौसला दिँदै मन्त्री रिजालले पारदर्शी भएर काम गर्नसमेत आग्रह गरे ।

मन्त्री रिजालले शनिबार नै भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) को पनि अनुगमन गरे । अनुगमनका क्रममा विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा‍. चण्डिका भट्टले मन्त्री रिजाललाई सेजको स्थलगत जानकारी गराए भने सेजको विस्तृत विवरणसमेत प्रस्तुत गरेका थिए ।

अनुगमका क्रममा मन्त्री रिजालले अहिले सेजमा उद्योग स्थापना गर्दा उद्योगीलाई परिरहेको समस्या तत्काल हल गर्ने प्रतिबद्धता व्यक्त गरे । उद्योगीले उद्योग स्थापना गर्न अहिले लिजका लागि सरकारले तोकेको ६० रुपैयाँ प्रतिस्वाक्यर मिटर जग्गा मूल्यलाई घटाएर प्रतिस्वाक्यर मिटर ८ देखि १० रुपैयाँसम्म बनाउन पहल गर्ने मन्त्री रिजालले बताए ।

आइसिपी र सेजको अनुगमनपछि मन्त्री रिजालले भैरहवाका उद्योगी व्यवसायीहरूसँग भेटघाट गरेका थिए । सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्य्रक्रममा बोल्दै मन्त्री रिजालले उद्योगी व्यवसायीले झेल्नुपरेको समस्या समाधानका लागि ऐन कानुन परिमार्जन गर्नुपर्ने भए पनि यसमा नेपाल सरकार गम्भीरतापूर्वक लाग्ने स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योग व्यवसाय सबल नभई देश आर्थिक समृद्धितर्फ जान नसक्ने समेत स्पष्ट पारे । भैरहवाका उद्योगी व्यवसायीका कुरा सुन्दै मन्त्री रिजालले उच्च मनोबलका साथ अघि बढ्न आग्रह गरे ।