३२ सालमा राजालाई देखाउन बनाउन थालेकाे बाटाे अझै बनेन

३२ सालमा राजालाई देखाउन बनाउन थालेकाे बाटाे अझै बनेन

निर्माण थालेकाे ४८ वर्षपछि कालाेपत्रकाे तयारी


सुर्खेत ।

२०३२ सालमा तत्कालीन राजा वीरेन्द्र शाह सुर्खेत आउँदा उनलाई देखाउन निर्माण थालिएकाे सडक निर्माणले अझै पूर्णता पाउन सकेकाे छैन ।

मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने सुर्खेतको पूर्वीखण्ड धुलियाबिट–भेडाबारी सडककाे निर्माण ४८ वर्षसम्म अपूरै रहेकाे हाे ।

२०३२ सालमा राजा वीरेन्द्र सुर्खेत आउँदा धुलियाबिट–भेडाबारी सडक निर्माण थालिएको थियो। निर्माण थालिएको लामो समयसम्म पनि स्तरोन्नतिको काम हुन सकेको थिएन ।

अब भने १ वर्षभित्र कालोपत्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइएकाे छ । लामो समयदेखि रूख कटानको अनुमति नपाउँदा निर्माणको काममा अवरोध भएकामा अहिले रूख कटानको अनुमति पाएसँगै सडक स्तरोन्नतिको काम अगाडि बढेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले बताए ।

‘सडक निर्माणले अहिले गति लिएको छ। सुर्खेतको पूर्वी खण्डको सडक १ वर्षमा निर्माण सकिन्छ,’ शनिबार सडकको अनुगमन गर्दै उनले भने, ‘पश्चिम खण्डको राजमार्गले पनि चाँडै गति लिनेछ ।’

सडक स्तरोन्नतिका लागि रूख कटान गर्न वन मन्त्रालयले अनुमति दिइसकेकाले अहिले रूख कटानको कामसँगै सडक निर्माणले गति लिएको मन्त्री ज्वालाले बताए। ‘यो सडकखण्ड १ वर्षमा कालोपत्रको काम पूरा हुने लक्ष्य राखिएको छ’, उनले भने, ‘लक्ष्यअनुसार नै काम भइरहेकाले निर्माण तोकिएको समसमा नै सम्पन्न हुन्छ।’

मदन भण्डारी राजमार्गको सुर्खेत पूर्वीभागमा ३५ किलोमिटर छ भने पश्चिममा भागमा ९४ किलोमिटर छ। अहिले पूर्वी भागको काम अगाडि बढाइएको मदन भण्डारी राजमार्गका आयोजना प्रमुख शम्भुप्रसाद आचार्यले बताए ।

धुलियाबिटदेखि बोटेचौरसम्मकाे सडक हाल ४ मिटर चौडाइ रहेकामा अब ७ मिटर बनाइने मन्त्री ज्वालाले जानकारी दिए ।