आज एकैदिन ४ ठुला सवारी दुर्घटना : ६ जनाको मृत्यु , २२ बढी घाइते

आज एकैदिन ४ ठुला सवारी दुर्घटना : ६ जनाको मृत्यु , २२ बढी घाइते


काठमाडौं ।

आज एकैदिन सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक, जुम्ला र काठमाडौंमा भएका दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका– ४ छलपुनेरामा आज जिप दुर्घटना २ जनाको मृत्यु भयो । मृत्यु हुनेमा
चालक मुगुको छायांनाथ रारा नगरपालिका–५ का अविराज कार्की र सहचालक सोही ठाउँकै रुपबहादुर रावल रहेका छन् ।

नाग्म–मुगु सडकखण्डको कनकासुन्दरी–४ गोडिज्यूलाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जिप सडकबाट झण्डै ३ सय मिटर तल खसेको थियो ।

यस्तै काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये २ जनाको मृत्यु भएको छ ।

जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी संघको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान ७ः३० बजे ठोकिँदा दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीय उषा थापा रहेका छन् ।

२ गाडी ठोकिँदा बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकलसमेत दुर्घटनामा परेका थिए ।

यस्तै सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको पाँचकिलो भन्ने स्थान नजिकै जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

दोलखाबाट खाडिचौरतर्फ जाँदै गरेको बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी आज बिहान साढे ३ बजेतिर आफैं अनियन्त्रित भई घुम्तीबाट करिब ३०० मिटर तल सडकै खसेको थियो ।

दुर्घटनामा गाडी चालक काठमाडौंको नागार्जुन नगरपालिका–४ बस्ने अन्दाजी ३६ वर्षीय उत्तम महर्जन र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ बस्ने ४१ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

यता सल्यानको बागचौर नगरपालिका १२ बाफुँखोलाबाट दाङ तुलसीपुर जाँदै गरेको रा १ ख २५४१ नम्बरको बस बागचौर नगरपालिका ७ कोटबारा चौफारी नजिक दुर्घटना हुदा ६ जना घाइते भएका छन् ।